सरकारले बिद्रोही ने.क.पा.संग गरेको तीन बुँदे सहमति विपरीत प्रहरीले बिद्रोही ने.क.पा.को ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गरेको छ।
बिद्रोही ने.क.पा. नेता लिम्बुलाई प्रहरीले बिहीबार साँझ ताप्लेजुङ सदरमुकामस्थित फुङ्लीङ बजारमा पार्टी कामको शिलशिलामा हिडिरहेका बेला गिरफ्तार गरेको ने.क.पा.ले जनाएको छ।
पार्टी प्रतिबन्धकै अवस्थामा लागेको हात हतियार खरखजना मुद्दाको शिलशिलामा हिरासतमा लिनु परेको प्रहरीले बताएको छ ।
यसैअबिच नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी व्युरोका इन्चार्ज प्रकाशले एक बिज्ञप्ति जारी गरेर उक्त गिरफ्तारीप्रति आपत्ति प्रकट गरेका छन्। बिज्ञप्तिमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति पश्चात सरकारको तर्फबाट पूरा गरिनुपर्ने सहमतिको उलङ्घन गर्दै ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको बताइएको छ । सोही विज्ञप्तिमार्फत गिरफ्तार नेता सक्कलाको तत्काल रिहाईको माग गरिएको छ ।

व्युरो इन्चार्ज प्रकाशले विज्ञप्तिमा भनेका छन्, ‘एकातर्फ बिभिन्न कानुनी जटिलताहरु रहेको र तिनलाई सुल्झाउन समय लागेको हुनाले जेल बन्दीहरुलाई समयमै रिहा गर्न नसकिएको बताइरहेको सरकारले यसरी हाम्रो पार्टीका कमरेडहरुलाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था सरकार स्वयम्ले पैदा गरेको छ ।’
प्रकाशले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको हाम्रो पार्टी आफुले गरेका सहमतिप्रति नेपाल सरकार प्रतिबद्ध बनोस् र इमान्दारीता पूर्वक सहमतिको पालना गरोस् भन्न चाहान्छ । साथै हिजो गिरफ्तार क. सक्कललाई तुरुन्त रिहाईको माग गर्दछ ।’