सन् १९९० मा सोभियत संघ विभाजित भएर बनेको दुई देशहरु आर्मेनिया र अजरबैजानबीच भएको सिमा बिबादमा दुई देशका सैनिकहरु बीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। बिबिसीमा प्रकाशित समाचार अनुसार झडपबाट दुबैतर्फका सैनिक तथा नागरिक हताहत भएका छन्।
हिंसाको बीच अजरबैजानको केही भाग, अर्मेनिया र नागोर्नो-काराबाखमा मार्शल कानूनको घोषणा गरिएको छ।
आर्मेनियाका रक्षामन्त्रीले आइतबार नागोर्नो-काराबाखको राजधानी स्टेपनेकर्टसमेतका कयौं बस्तीमा हमला भएको बताए। नागोर्नो-कारावाखका अलगवादी समूहले झडपमा उनीहरूका करिब १६ जनाको ज्यान गएको र सयको करिब घाइते भएको जनाएको छ।
यसैगरी आर्मेनियाले आफूहरूले अजरबैजानका दुई हेलिकप्टर, तीन ड्रोन र तीन ट्यांक नष्ट गरेको दाबी गरेको छ।
घटनापछि आर्मेनियाको सरकारले नागर्ने-काराबाखमा मार्शल कानुन घोषणा गर्दै सैनिक परिचालन गरेको छ।
त्यहाँका प्रधानमन्त्री निकोल पाशिनियनले अजरबैजानले सुनियोजितरूपले आक्रमण गरेको आरोप लगाउँदै नागरिकहरूलाई ‘आफ्नो पवित्र मातृभूमिको रक्षाका लागि तयार हौं’ भनेका छन्।
उनले सो क्षेत्र एउटा ठूलो युद्धका निकट रहेको चेतावनी दिदैं टर्कीमाथि आक्रमक व्यवहार गरेको आरोप लगाएका छन् भने अन्तर्राष्टिय समुदायसँग सो इलाकामा कुनै पनि प्रकारको अस्थिरता रोक्नका लागि एकजुट हुन आह्वान गरेका छन्।
यसैगरी अजरबैजानका रक्षामन्त्रीले आफ्नो एउटा हेलिकप्टरमा क्षति पुगेको पुष्टि गर्दै सोका चालक भने बचेको बताएका छन्। यसका साथै उनले आर्मेनियाको १२ वटा हवाई प्रतिरक्षा प्रणालीलाई क्षति पुर्याएको दाबी गरेका छन्। यध्यपी आर्मेनियाले यस दाबीको खण्डन गरेको छ।
अजरबैजानका राष्ट्रपति अलीएभले देशलाई सम्बोधन गर्दै आर्मेनियाली सेनाले गरेको हमलाको जवाफ दिन ठूलो स्तरमा जवाफी कारबाही गर्ने आदेश दिएको बताएका छन्।
‘जवाफी कारबाहीमा आर्मेनियाको कब्जामा रहेको अजरबैजानको भूमि अब मुक्त भएको छ’, टेलिभिजन सम्बोधनमा उनले भने, ‘मलाई पूर्ण विश्वास छ हाम्रो जवाफी हमलाले ३० वर्षदेखि जो अन्याय हुँदै आएको थियो, त्यो सँधैका लागि समाप्त भएको छ।’
भूमि कब्जा भएको कुरालाई आर्मेनियाली सेनाले सुरूमा अस्वीकार गरेको भएपनि नागोर्नो-कारावाखका राष्ट्रपति अराइक हरतुन्यानले केही इलाका अजरबैजानको कब्जामा पुगेको स्वीकार गरेका छन्।
उनीहरूबीच नागोर्नो-काराबाख क्षेत्रलाई लिएर आइतबार सीमामा भिडन्त भएको हो। अन्तर्राष्ट्रिय रूपमा नागोर्नो-काराबाखलाई अजरबैजानको हिस्साका रूपमा मान्यता दिइएको भएपनि यस क्षेत्रमा अर्मेनियाली जातिका मानिसहरूको नियन्त्रण रहँदै आएको छ।
सन् १९९१ मा छुट्टिने क्रममा यो क्षेत्रलाई लिएर भएको विवादमा दशौं हजार मानिसहरूको ज्यान गएको थियो।
आइतबार भएको झडपका बारेमा प्रतिक्रिया दिदैं अजरबैजानका राष्ट्रपति इलहाम अलीएभले उक्त क्षेत्रमा पुनः आफ्नो नियन्त्रण स्थापित हुनेमा आफू विश्वस्त रहेको जनाएका छन्।
नागोर्नो-काराबाख
नागोर्नो-काराबाख आर्मेनिया र अजरबैजानको सीमामा ४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ भने त्यहाँ आर्मेनियाली ईसाई र टर्कीमूलका मुसलमानहरूको बसोबास छ।
सोभियत संघ रहेका बखत यो क्षेत्र अजबैजानभित्र एक स्वायत क्षेत्रका रूपमा रहेको थियो।
अन्तर्राष्ट्रिय स्तरमा यसलाई अजरबैजानको हिस्सा मानिन्छ। यहाँ बहुसंख्यक बासिन्दा आर्मेनियाली मूलका रहेका छन्।
सन् १९८० देखि १९९० सम्म चलेको युद्धका दौरान यहाँ ३० हजार बढी मानिस मारिएका थिए भने दशौं लाख मानिस विस्थापित हुन पुगेका थिए।
सोही समयमा अलगवादी शक्तिले यस क्षेत्रमा आफ्नो कब्जा जमाए। त्यसपछि सन् १९९४ मा युद्धविराम भएपनि यहाँ गतिरोध जारी नै रहेको छ।