उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसकी पूर्व सेक्रेटरी सारा स्यान्डर्सलाई आँखा झिम्काएको खुलासा भएको छ।
पूर्व प्रेस सेक्रेटरी सारा स्यान्डर्सले आफ्नो नयाँ किताबमा किम जोङ उनले आफुलाई आँखा झिम्काएको खुलासा गरेकी छिन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ उनबीच सन् २०१८ को जुनमा सिंगापुरमा भएको भेट वार्ताका क्रममा आफुलाई उत्तर कोरियाली सर्बोच्च नेताले आँखा झिम्काएको आफ्नो किताबमा उल्लेख गरेकी छिन।
डोनल्ड ट्रम्पलाई पछि यसबारे जानकारी दिँदा उनले यसलाई मजाकको रुपमा लिएको उनले आफ्नो किताबमा उल्लेख गरेकी छिन । उनले आफ्नो किताबमा लेखेकी छिन, “ट्रम्पले हाँस्दै भने, ‘किम जोङले तिमीलाई फ्लर्ट गर्ने कोसिस गरे ? उनले साँच्चै नै यस्तो गरे ? उनले तिमीलाई लाइन मारे ?’
उक्त किताबमा बताएअनुसार ट्रम्पले ठट्टा गर्दै भने, ‘अब तिमी हामीहरुका लागि उत्तर कोरिया जाँदै छौ ।’ ‘द गार्डियन’ को रिपोर्ट अनुसार सारा स्यान्डर्सको किताब ‘स्पिकिङ फर माइसेल्फ’ अर्को मंगलबार रिलिज हुनेछ । किताबको एक प्रति गार्डियनसँग छ ।
उक्त किताबमा बताइए अनुसार किम जोङ उनले निकै गाह्रो गरी ट्रम्पले दिएको टिक ट्याक (मिन्ट) स्विकार गरे । वास्तवमा किम आफ्नो सुरक्षाको विषयमा निकै सतर्क छन् र अन्य कुनै नेता र व्यक्तिबाट खासै केही कुराहरु स्विकार गर्दैनन् । ट्रम्पले किमलाई मिन्ट विष वा क्याप्सल नभएको भन्दै आश्वस्त पार्न त्यसलाई नाटकीय तरिकाले हावामा उफारेर देखाए ।
साराले किताबमा बताए अनुसार किम जोङ उन र ट्रम्पबीच खेल विशेषगरी वुमन सकरको विषयमा पनि कुराकानी भयो । सारा लेख्छिन्, ‘मैले अचानक देखेँ कि किमले मलाई घुरिरहेका छन् । हाम्रो आँखा जुध्यो र किमले आँखा झिम्काए । म अचम्मित भए । मैले तुरुन्त तल हेरेँ र नोट लिइरहेँ । म सोचमा परेँ कि भर्खरै के भयो ?’
किताबमा बताइए अनुसार किम जोङ उनसँगको भेटपछि एयरपोर्ट जाने बाटोमा बीस्ट गाडीमा बसेर साराले ट्रम्प र तत्कालीन स्टाफ प्रमुख जोन केलीलाई यस घटनाबारे बताइन् । त्यतिबेला ट्रम्पले अचम्मित हुँदै भने, ‘तिमीलाई उनले लाइन हाने ? ‘
उनले लेखेकी छिन्, ‘त्यतिबेला मैले ट्रम्पलाई यो कुरा ठट्टा गर्नका लागि नभनेको बताएकी थिएँ र त्यसपछि उनले यो चर्चालाई बन्द गर्न भने ।’
उनका अनुसार केलीले पनि ट्रम्पलाई साथ दिए । ट्रम्पले ठट्टामा भने, ‘त्यसो भए सारा, हिसाब बराबर । तिमी उत्तर कोरिया जाँदैछौं हामीहरुका लागि । तिम्रा श्रीमान् र बच्चाले तिमीलाई मिस गर्नेछन् तर तिमी देशका लागि हिरो बन्नेछौ । ’ साराका अनुसार ट्रम्प र केली बाटोभरी हाँसिरहे ।