कोरोना संक्रमणका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको दिल्लीस्थित आरआर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो।
मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘
उनका छोरा अभिजित मुखर्जीले आफ्ना बुबा प्रणबको निधन भएको आफ्नो ट्वीटमार्फत पुष्टि गरेका छन् ।
झन्डै ५ दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्जी सात पटक सांसदमा निर्वाचित भएका थिए । राजनीतिमा आउनुअघि उनले शिक्षण र पत्रकारिता पेसा अँगालेका थिए । उनी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि लगातार उनी चारपटक राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उनी लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००९ मा त्यसै क्षेत्रबाट उनी पुन: निर्वाचित भएका थिए ।
उनी सन् १९७२ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।