चौतर्फी आलोचना भएपछि ८२ वर्षीय पूर्वराजा हवाँ कार्लोसले देश छोड्ने निर्णय गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कार्लोसले आफ्ना छोरालाई पत्र लेख्दै आफूले देश छोड्न गरेको निर्णय जानकारी गराएका छन्।
‘म तिमीलाई मैले सोचविचार गरी स्पेनबाहिर जान गरेको निर्णय जानकारी गराउँदैछु,’ उनले पत्रमा लेखेका छन्।
उनी कहाँ जान लागेका हुन् भन्ने राजपरिवारले खुलाएको छैन तर स्पेनी सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै उनी डोमिनिकन रिपब्लिक गएको जनाएका छन्।
कार्लोसको यो निर्णयपछि ७५ वर्षीया पूर्वरानी सोनियाको अवस्था के हुने भन्ने एकिन भइसकेको छैन।
कार्लोस सन् १९७५ मा स्पेनका राजा बनेका थिए। उनलाई सन् १९८१ मा हुन लागेको कूबाट जोगाएर स्पेनको प्रजातन्त्रलाई अघि बढाएको श्रेय जान्छ।
सन् २०१२ मा बोत्सावानामा हात्ती शिकार खेल्न गएका बेला लडेर उनलाई चोट लागेको थियो। शारिरिक रूपले कमजोर भएपछि सन् २०१४ मा उनले राजगद्दी त्यागेका थिए। सन् २०१४ मा गद्दी त्यागेका पूर्वराजा हुवान कार्लोसले पाउँदै आएको वार्षिक तलब दुइलाख २५ हजार डलर खोसिएको थियो भने उनका छोरा राजा फेलिप पाँचौंले आफ्ना बुवासँगको अरू सम्बन्ध पनि तोडेको घोषणा गरेका थिए ।
पूर्वराजा कार्लोसको सम्पत्तिबारे स्वीट्जरल्यान्ड र स्पेनका अधिकारीहरूले अनुसन्धान गर्न सुरू गरेपछि राजा फेलिपले त्यस्तो निर्णय गरेका थिए।
फेलिपको स्वीस बैंकको खातामा साउदी अरेबियाबाट १० करोड अमेरिकी डलर जम्मा भएको देखिएको थियो। त्योमध्ये ७ करोड ६६ हजार डलर कार्लोसकी पूर्वप्रेमिका कोरिना लार्सेनलाई पठाइएको थियो। डेनिस नागरिक कोरिनाले उक्त पैसा लुकाउनका लागि नभई आफूलाई फकाउन कार्लोसले पठाएको दाबी गरेकी छन्।
स्पेनमा सञ्चारमाध्यमले पूर्वराजासँग जोडिएका स्क्यान्डलबारे लगातार सामग्री छापेका थिए। अहिले कार्लोसको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ।