बिहे गरेर अमेरिका लैजाने आश्वासन दिएर रकम ठगी गरेको आरोप लागेका दुई युवतीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् ।
उनीहरुलाई बुटवलमा लुकीछिपी बसिरहेको अवस्थामा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट युवालाई फलो गरेर बिहेको प्रलोभन देखाइ उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।
आफुहरुलाई अमेरिकाको डिभी परेको भएपनि अहिले कोरोना संक्रमणकाकारण नेपालमै बसिरहेको र नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्नका लागि रकम आवश्यक परेको बताएर उनीहरुले ती युवाहरुलाई ठगी गरेको बताइएको छ।
हाल प्रहरीको नियन्त्रणमा रहेकी शर्माले बुबाको नाममा समेत फेक आईडी बनाएर ढुकुटीको पैसा तिर्ने बहानामा पनि पैसा लिएको पाइएको जनाइएको छ ।