अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले भूकम्प पीडितसँग घुस लिदै गर्दा लमजुङबाट दुईजना इन्जिनियरहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाका इञ्जिनियरद्वय भुपेन्द्रकुमार मण्डल र टिकाप्रसाद गुरुङ रहेका छन।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार, उनीहरुले लमजुङका ८ जना भूकम्प पीडितसँग जनही ५० हजारका दरले घुस लिदै गर्दा पक्राउ परेका थिए। इञ्जिनियरद्वय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत लमजुङ जिल्ला आयोजना कार्यन्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)मा करार सेवामा कार्यरत थिए।
भूकम्प पीडितसँग घुस लिएको भन्दै ३ जनाविरुद्ध उजुरी प्राप्त भएपनि अर्का आरोपी इञ्जीनियर राजकुमार गौतम भने घटनास्थलमा नभएको र घुस लिनुअघि नै घर गएकाले पक्राउ नगरेको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत तीनै जनालाई घुस लिएको आरोपमा उजुरी परेपछि बर्खास्त गरिएको प्राधिकरणले जनाएको छ।
घुस लिएको उजुरी दिन लागेको थाहा पाएपछि इञ्जिनियर टिकाप्रसाद गुरुङले पीडितलाई बाटोमै रोकेर रकम फिर्ता गरेका थिए।
प्राप्त विवरण अनुसार, मर्स्याङ्दी गाउँपालिका १ नायुँ गाउँका बुद्धिबहादुर गुरुङ, मनबहादुर गुरुङ, जीवन गुरुङ, हस्तबहादुर गुरुङ, चक्रबहादुर गुरुङ, वाङ्गे विक, खेमबहादुर गुरुङ र रसीराम गुरुङ असार २९ गते भूकम्प पीडितले पाउने दोस्रो किस्ताको रकम निकाल्न सदरमुकाम बेसीशहर झरेका थिए ।
भूकम्प पीडितले घर बनाउन पाउने दोस्रो किस्ता बापतको जनही एकलाख रुपैयाँ बैंकबाट निकालेपछि सोही गाउँका वडाध्यक्ष रुद्रमान गुरुङले इञ्जिनियरलाई भेट्न लगाएको बताइएको छ। त्यसपछी नजिकैको होटलमा बसेका इञ्जिनियर टिकाप्रसाद गुरुङलाई छुट्टाछुट्टै भेटेर भुकम्प पिडित आठै जनाले जनही ५० हजारका दरले रकम बुझाएको अवस्थामा उल्लेखित दुवै जना इन्जिनियरलाई अख्तियारको टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।