मुस्ताङमा पहिलोपटक एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार मुस्ताङका घरपोजङ गाउँपालिकाका ८३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ३१ गते काठमाडौँको बौद्धबाट मुस्ताङ पुगेका थिए ।
त्यहाँ उनको र्यापिड टेष्ट गरिएको थियो र -यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाइएको थियो । शनिबार उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
-यापिड टेष्टका क्रममा पोजेटिभ देखिएलगत्तै उनलाई मुस्ताङ जिल्ला अस्पताल, जोमसोमको आइसोलेसनमा राखिएको थियो । संक्रमित पुरुष उच्चरक्तचापको बिरामी हुन र आफुँलाई स्याहार गर्न सक्ने अवस्थामा छैनन् । स्वास्थ्य कार्यलय मुस्ताङका अनुसार उनको अवस्था सामान्य छ र उनी अहिले स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
यससँगै गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या चार सय ८८ पुगेको छ । शनिबार मात्रै यहा एक सय आठ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार शनिबार तनहुँमा २७, नवलपुरमा ३४, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १, बाग्लुङमा ३७ र मुस्ताङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।