काठमाडौं, २७ असोज २०८३।
काठमाडौं महानगरपालिकामा कार्यरत नगर प्रहरी निरिक्षकसहित १६ जना नगर प्रहरीले एकैसाथ राजीनामा दिएका छन्।
पछिल्लो एक साताको अवधिमा आठ जना प्रहरी निरीक्षक, पांच जना प्रहरी नायब निरीक्षक (सई) र तीन जना प्रहरी सहायक निरीक्षक (असई) ले राजीनामा बुझाएका हुन्। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले १६ जनाले राजीनामा दिएको पुष्टि गरे।
राजीनामा दिनुको मुख्य कारण वृत्ति विकासको अवसर नपाउनु रहेको राजीनामा दिने अधिकृतहरूको गुनासो छ। वर्षौंदेखि एउटै पदमा कार्यरत रहनुपरेको र पदपूर्ति समितिमार्फत हुनुपर्ने बढुवाको प्रक्रिया अघि नबढ्दा बाध्य भएर जागिर छाड्नुपरेको उनीहरूको भनाइ छ।
यससँगै नगर प्रहरीको राजीनामाको कारणबारे महानगर प्रहरी प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच नै फरक-फरक धारणा देखिएको छ।
महानगर प्रहरी प्रमुख जोशीले पनि वृत्ति विकास नै राजीनामाको कारण भएको बताए । यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहे पनि केही कर्मचारीहरू थप काम गर्न इच्छुक नदेखिएको र राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको उनले जानकारी दिए।
तर, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले भने राजीनामा वृत्ति विकासका कारणले नभई ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका दाबी गरे ।
अर्यालले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा ८ अनुसार नगर प्रहरीलाई स्थायी नियुक्ति गर्न नमिल्ने र करारमा मात्र नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारे । करारका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्न कानुनले नदिने उनको भनाइ छ।
विगतमा स्थायी नियुक्ति पाएका नगर प्रहरीको हकमा भने बढुवाको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा महानगरले उपाय खोजिरहेको र त्यसका लागि लोक सेवा आयोगको परामर्श आवश्यक पर्ने अर्यालले बताए।