भारतीय सैनिकबिरुद्ध चिनियाँ सेनाद्वारा प्रयोग भएको कच्चा घरेलु हतियारको तस्बीर सार्वजनिक

भारतीय सैनिकबिरुद्ध चिनियाँ सेनाद्वारा प्रयोग भएको कच्चा घरेलु हतियारको तस्बीर सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ असार २०७७
  • 5.8K
    Shares

चिनियाँ सैनिकले भारतीय सैनिकसँगको भिडन्तमा प्रयोग गरेको भनिएको घरेलु कच्चा हतियार

भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जना सैनिकको ज्यान जाने गरी लद्दाखको गलावान इलाकामा भएको भिडन्तमा चिनियाँ सेनाले ठुला ठुला हतियार र गोला बारुद प्रयोग गरेको हुन सक्ने आंकलन गरेका थिए।  तर त्यस भिडन्तमा चिनियाँ सेनाले कुनै ठुलो हातहतियार र गोलाबारुद प्रयोग गरेको नभई फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा हतियार प्रयोग गरेको भेटिएको छ।

त्यस भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर बिहीवार सार्वजनिक भएको छ।

उक्त तस्बिर बीबीसीलाई भारत-चीन सीमामा तैनाथ भारतीय सेनाका एकजना वरिष्ठ अधिकारीले उपलब्ध गराएका हुन् र उनले ती हतियार चिनियाँ सैनिकहरूले प्रयोग गरेका बताएका छन्।

उक्त तस्बिरलाई सर्वप्रथम इन्टरनेटको सामाजिक सञ्जाल ट्विटरमा राखेका एकजना प्रतिरक्षा विश्लेषक अजय शुक्लाले त्यस्तो प्रकारको हतियारको प्रयोगलाई “बर्बर” भनेका छन्। तर त्यसबारेमा भारत र चीन दुवै पक्षका अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।

समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए।

त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।

सन् १९९६ को सहमतिअनुसार “लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्……विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्ने छैनन्।”

तर चीन र भारतबीच आपसी सीमा क्षेत्रमा हालैका हप्ताहरूमा तनावपूर्ण भिडन्तहरू भएका छन्। मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए।

गलवान उपत्यकामा भएको उक्त भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो र त्यसपछि दुवै शक्ति राष्ट्रबीचको तनाव चुलिएको थियो। उक्त भिडन्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले केही पनि स्वीकार गरेको छैन। दुवै पक्षले अर्को पक्षले सीमामा अतिक्रमण गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया