लद्दाख क्षेत्रमा हिंसात्मक झडप भएको दुई दिनपछि भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले भारतका विदेश मन्त्री एस जयंशकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार उक्त वार्ता भएको जनाएको छ ।
सो टेलिफोन कुराकानीमा दुवै पक्षबीच सम्पूर्ण परिस्थितिलाई जिम्मेवार ढंगले सम्हाल्ने र ६ जुनको सहमति कार्यान्वयन गर्ने समझदारी भएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘दुवै पक्ष ६ जुनको सहमति कार्यन्वयन गर्न र परिस्थितिलाई उत्तेजित पार्नेभन्दा पनि द्विपक्षीय सम्झौता र प्रोटोकलअनुसार शान्ति र संयम सुनिश्चित गर्न सहमत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा भारतीय विदेशमन्त्री जयशंकरले घटनाप्रति विरोध जनाउँदै हिंसात्मक झडप हुनुमा चीनको सुनियोजित र योजनाबद्ध कदम जिम्मेवार रहेको बताएका थिए । चीनियाँ पक्षले एलओसीको भारतीय भूभागमा संरचना निर्माण गर्नु नै झडपको कारण बनेको पनि भारतले जनाएको छ । ‘
विज्ञप्तिमा भारतले पछिल्लो अस्वाभविक घटनाले दुईपक्षीय सम्बन्धमा ठूलो असर पर्नसक्ने चेतावनी पनि चीनलाई दिएको जनाइएको छ । साथै जयशंकरले कुराकानीका क्रममा चीनलाई आफ्ना कदमहरुको पुनर्समीक्षा र आवश्यक सुधारका कदमहरु चाल्न आग्रह गर्दै दुवै पक्षले एलओसीलाई सम्मान गर्नुपर्ने धारणा राखेको पनि बताइको छ ।
यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा केही सैनिकहरूको मृत्यु हुनेगरी भएको घटनाका लागि चीन जिम्मेवार नभएको दाबी गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त घटना लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् सीमाको वास्तविक नियन्त्रण रेखामा चिनियाँ क्षेत्रपट्टि भएको दाबी गर्दै कसको गल्ती हो भन्ने स्पष्ट भएको टिप्पणी गरेका छन्।
मङ्गलवार सार्वजनिक भएको घटनामा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि भारतीय पक्षले गरिसकेको छ। चिनियाँ सैनिकहरू पनि हताहत भएको भारतको दाबी छ। तर बेइजिङले त्यसबारे केही स्पष्ट पारेको छैन।
चिनियाँ सेनापट्टि भएको क्षतिबारे सोधिएको प्रश्नमा झाओले सोझो उत्तर नदिई सीमा सुरक्षाका लागि खटिएका टोलीहरूले संयुक्त रूपमा विवाद समाधान गर्न खोजिरहेका तथा भारत-चीन सीमामा समग्रमा स्थिर अवस्था भएको बताए।
भारतीय र चिनियाँ सैनिकबीच भएको पछिल्लो झडपमा एक अधिकृतसहित बीसजना भारतीय सैनिकको मृत्यु भएको थियो । भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार पूर्व लद्दाखको गलवन उपत्यकामा साँझ हिंसात्मक झडपको रुप लिएको हो । चिनियाँ पक्षतर्फ भएको हताहतीको अझै विवरण आएको छैन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दावी गरेको छ । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।