उत्तर कोरियाद्वारा दक्षिण कोरियासंगको संयुक्त सम्पर्क कार्यालय बम हानेर ध्वस्त

उत्तर कोरियाद्वारा दक्षिण कोरियासंगको संयुक्त सम्पर्क कार्यालय बम हानेर ध्वस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ असार २०७७
  • 4.1K
    Shares

उत्तर र दक्षिण कोरिया मिलेर निर्माण गरेको सीमावर्ती सहर गेसङस्थित संयुक्त सम्पर्क कार्यालयलाई उत्तर कोरियाले बम हानेर ध्वस्त पारेको छ ।

दक्षिण कोरियाले पनि संयुक्त सम्पर्क कार्यालय ध्वस्त भएको पुष्टि गरेको छ । उसले उत्तर कोरियाको गेसङमा बाक्लो धुवाँको मुस्लो निस्किएको तस्बिर समेत सार्वजनिक गरेको छ । गैरसैनिक क्षेत्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धपछि कायम गरिएको दुई देशीय सीमारेखा हो ।

दुई देशबीच संवादका लागि सन् २०१८ मा स्थापना गरिएको कार्यालय उत्तर कोरियाली भूमिमा रहेको थियो । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रतिबन्ध लगाइएपछि उक्त कार्यालय जनवरीदेखि भने बन्द थियो ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले मंगलबार विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै अमेरिकासँग मिलेर उत्तर कोरियाको सैन्य गतिविधि नियालिरहेको जनाएको छ ।

केही दिनअघि उत्तर कोरियाले डीएमजीमा सेना पठाउने चेतावनी दिएको थियो । केही समययता दुई देशबीच खासगरी बेलुनमार्फत सीमापारि पठाइने पर्चाका कारण तनाव चुलिएको छ । आफ्नो देशबाट भागेर दक्षिण कोरिया पुगेकाहरूले ठुल्ठूला बेलुनमार्फत प्रचार सामग्री पठाएपछि उत्तर कोरिया रुष्ट बनेको हो ।

भगौडाहरूले नेतृत्व गरेका समूहहरूले सीमापारिबाट उत्तर कोरियातर्फ पठाइने त्यस्ता बेलुनमा विभिन्न पर्चा राखिएका हुन्छन् । त्यस्ता पर्चा तथा बेलुनमा लेखिएका सन्देशमा उत्तर कोरियाली शासकको कडा आलोचना गरिएको हुन्छ । त्यसका साथै बेलुनमा केही खानेकुरा, एक डलर बराबरको स्थानीय मुद्रा, रेडियो र दक्षिण कोरियाली नाटक तथा समाचार भएका पेनड्राइभसमेत राख्ने गरिएको छ ।

उत्तर कोरियाली त्यस्ता गतिविधि रोक्न दक्षिणलाई यसअघि नै चेतावनी दिएको थियो । तर उसले त्यसतर्फ खासै ध्यान नदिएपछि उत्तर कोरियाले थप रुष्ट बनेको हो । पछिल्लो घटनापछि भने सीमामा बस्ने मानिसको जीवन जोखिममा परेको भन्दै दक्षिणले बेलुन उडाउन रोक्ने प्रयास गरिरहेको जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले सोमबार स्थितिलाई थप नचर्काउन तथा वार्तामा बस्न आग्रह गरिसकेका छन् । तर उत्तरले गत सातादेखि नै दुई देशका नेताहरूबीच स्थापित हटलाइन सेवासहित सम्पूर्ण सम्पर्कका माध्यमहरु बन्द गरिसकेको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले गतसाता डीएमजीमा सेना खटाउने भन्दै त्यसका लागि तयार रहन आदेश दिएको बताएकी थिइन् । उत्तर कोरियाली सेनाले हाल आफना ‘अग्रमोर्चालाई किल्लाका रूपमा बदल्न तथा सैन्य निगरानी क्रियाशील पार्न तयार रहेको’ जनाएको छ ।

उत्तर कोरियाली सेनाले गैरसैनिक क्षेत्रमा सेना पठाउने कार्ययोजनाबारे अध्ययन गरिरहेको समेत जनाएको छ । एक वरिष्ठ सैन्य अधिकारीले सेना ‘उच्च सतर्कतामा रहेको’ र सरकारको कुनै निर्णय तत्काल कार्यान्वयन गर्न तयार रहेको चेतावनी दिएका छन् ।

उनको भनाइ किम यो–जोङले दक्षिणविरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिएपछि आएको हो । ‘मलाई लाग्छ यो दक्षिण कोरियाली अधिकारीसँग साँच्चिकै मुठभेडमा जाने बेला हो,’ किम यो–जोङले भनेकी थिइन्, ‘फोहोरलाई रछ्यानमा फ्याँक्नुपर्छ ।’

पछिल्लो घटनाक्रमलाई भने बेलुन प्रकरणसँग मात्र जोड्र हेर्न नमिल्ने बीबीसीले उल्लेख गरेको छ । खासगरी उत्तर कोरियाले आफ्नो शासनविरुद्ध नियोजित प्रचारबाजी भइरहे पनि त्यसलाई दक्षिण बेवास्था गरेको दाबी गर्छ । उत्तर कोरियाली नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच सन् २०१८ मा भएको वार्तामा दक्षिणले त्यस्ता बेलुन रोक्ने प्रतिबद्धता जनाएको थियो ।

त्यसका साथै अमेरिकाले आफ्नो देशविरुद्ध लगाउँदै आएको कडा प्रतिबन्ध रोक्न दक्षिणले कुनै पहल नगरेको भन्दै उत्तर कोरिया क्रूद्ध भएको छ । पछिल्लो घटनापछि दक्षिणलाई थप दबाबमा पार्ने तथा भविष्यमा हुने वार्ताका लागि आफू बलियो रूपमा प्रस्तुत हुन सकिने उत्तर कोरियाको रणनीति देखिन्छ ।

प्रतिक्रिया