पोटेबल अल्ट्रासाउण्ड मेसिन चोरी गरेको आरोपमा प्रहरीले ललितपुरबाट डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मा छन् ।
उनीहरुलाई ललितपुरस्थित महानगरीय प्रहरी परिसर, जावलाखेलले पक्राउ गरेको हो । उनीहरुविरुद्ध प्रहरीले पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन चोरी गरेको आरोप लगाएको छ। सो चोरीको पोटेबल अल्ट्रासाउण्ड मेसिन बानेश्वर बस्ने साथीको कोठामा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको भाटाआईएखो छ।
प्रहरीलाई उद्धृत गर्दै समाचारस्रोतले दिएको जानकारी अनुसार, आफुहरु अल्ट्रासाउण्ड सर्भिसिङ कम्पनीबाट आएको भन्दै जेठ १७ गते बिहान साढे ८ बजे पाटन अस्पतालको आईसीयू कक्ष छिरेर त्यहाँ रहेको पोटेबल अल्ट्रासाउण्ड मेसिन हेरेका थिए। केहीबेरपछि ड्युटीमा रहेका नर्सहरुको आँखा छलेर उनेहरुले त्यस पोटेबल अल्ट्रासाउण्ड मेसिन चोरेर भागेको बताइएको छ।
त्यस चोरीको बारेमा तुरुन्त खबर पाएको प्रहरीले ड्युटीमा रहेका नर्सहरुले दिएको सुचनाका आधारमा डा. मिश्र र अहेब शर्मालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । हाल प्रहरी हिरासतमा रहेका उनीहरुले महोत्तरीको वर्दिवासमा रहेको आफ्नो पोलिक्लिनिकमा प्रयोगका लागि उपकरण लगेको बताएको प्रहरी दाबी छ ।