भारतबाट रासायनिक मल लिएर नेपाल आउदै गरेका नेपालीमाथि सिमा सुरक्षामा रहेका सशस्त्र प्रहरीले अन्धाधुन्ध हवाई फायर गर्दा चार जना स्थानीय बासिन्दा र छ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ५ बसहीया नाकाबाट रासायनिक मल लिएर आउदै गरेका स्थानीय बासिन्दालाई सशस्त्र प्रहरीले अवैध रुपमा सामान ल्याउन खोजेको आरोप लगाएर रोक्न खोजेपछि दुवै पक्षबिच झडप भएको थियो। स्थानीयले भने खेती लगाउनका लागि रासायनिक मल ल्याउँदा रोकेको र सोहीक्रममा गोली चलाएको बताए ।
लकडाउन भै सिमाना बन्द भएको बेला अवैधरुपमा सामान नेपालतर्फ पुर्याउन खोज्ने समूहलाई रोक्नेक्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि ६ राउन्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीका एसपी भरत खनियाँले दाबी गरे। स्थानीयले गुलेलीले आक्रमण गरेका थिए । सोही क्रममा छ प्रहरी र चार स्थानीय घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।