कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषजेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।
यसैबीच, पछिल्लो २४ घण्टामा थप तीन सय २३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ ।
मन्त्रालयकाअनुसार काठमाडौंमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।