कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ।
समितिले बनाएको चरणबद्ध योजना अनुसार, १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ ।
त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाइ सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ । तर, कोरोना संक्रमणको सयभन्दा बढी केसहरु भएका जिल्लामा यो मापदण्ड लागू हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।
जेठ २५ देखि भदौ मसान्तसम्मको कार्ययोजना
सरकारले जेठ २५ गतेदेखि व्यक्ति व्यक्तिबीच कम्तिमा १ मिटरको भौतिक दूरी राख्ने र आवश्यक प्रोटोकल पालना गर्ने गरी उपभोग्य वस्तु बाहेकका अन्य पसलहरु पनि खोल्ने गरी लकडाउनको तरिका बदल्ने गृहकार्य गरेको छ । सम्भवतः ढिलोमा आइतबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।
जेठ २५ गतेपछि दैनिक उपभोग्य सामाग्री बाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिमार्टमेन्ट स्टोरहरु पनि मापदण्ड अनुसार सञ्चालन हुन दिने गरी प्रस्ताव तयार भएको छ । त्यसमा कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु पनि पर्नेछन् ।
यसका साथै एउटा जिल्लाबाट अर्को जिल्ला नकट्ने सवारी साधन र कार्यालयको परिचपत्रका आधारमा कामसँग सम्बन्धित सवारी साधनहरु पनि चल्न दिने प्रस्ताव गरिएको छ ।
सीसीएमसीले असार १ गतेदेखि सञ्चालन हुने क्षेत्र भनेर ६ वटा व्यवसायलाई खुला गर्ने प्रस्ताव राखेको छ । जसमा सबै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दूरीका यात्रुवाहक सवारी साधानहरु, मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु र सपिङ मलहरु छन् । यीमध्ये आन्तरिक हवाई सेवामा यात्रु क्षमताको आधा संख्यामा मात्र यात्रु राख्नुपर्ने भनिएको छ । त्यस्तै लामो दूरीका सवारी साधानमा पनि आधा क्षमताका मात्र यात्रु राख्न प्रस्ता गरिएको छ भने मदिरा पसलहरु निश्चित समय तोकेर खोल्न दिने भनिएको छ ।
असार १७ गतेपछि लकडाउन थप खोल्न प्रस्ताव गरिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय हवाई उडान, कम्तिमा एक मिटरको दूरी कायम गर्ने गरि खुल्ला खेलस्थलहरु पनि खोल्न सिफारिस गरिएको छ । त्यस्तै सबै प्रकारका शिक्षण संस्थाहरु असार १७ पछि ठाउँ हेरेर खोल्न सकिने सिफारिस छ ।
रेष्टुरेन्ट तथा खाजा पसलहरुहरु पनि असार १७ पछि मात्र खोल्न सकिने सिसिएमसीको सिफारिस छ । त्यसो गर्दा एक मिटरको भौतिक दूरी कायम गर्ने र साँझ ७ बजेसम्म मात्र खोल्न दिने भनिएको छ । तर, सभा समारोह, उत्सव, भोज भतेर जस्ता जमघट भदौ मसान्तसम्म सन्चालन नगर्ने सिफारिस छ । त्यस्तै एकैपटक २५ जनाभन्दा बढी भेला हुने कुनै पनि क्रियाकलाप नगर्ने र सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु पनि भदौ मसान्त अघि खोल्न नहुने सिफारिस गरिएको छ ।
सरकारको नीतिअनुसार नै अहिले उत्पादनमूलक उद्योग व्यवसायहरु, बैंक तथा वित्तिय संस्था, सबै प्रकारका कृषि व्यवसायहरु र सबै प्रकारका ढुवानी साधनहरु निर्वाध रुपमा चलिरहेको उच्चस्तरीय समन्वय समितिले जनाएको छ । दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय कहिल्यै पनि बन्द नभएको समितिको भनाइ छ ।
दैनिक उपभोग्य सामग्रीहरु, डिपार्टमेन्ट स्टोर र खाद्यान्न तथा कृषि स्टेनशनरी र औषधी जस्ता सामान विक्री गर्ने पसलहरु सधै खुलिरहेकै छन् ।