जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आजै (सोमबार) साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । कपिलवस्तुमा सोमबारमात्रै १० जनामा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ ५ गतेसम्म पूर्ण रुपमा जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।
अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ । मानिसको आवतजावत, उद्योगधन्दा, निर्माणको काम तथा व्यापार व्यवसायमा पनि रोक लगाइएको छ । खाद्यान्न र तरकारी किन्नका लागि बिहान ७ देखि ९ बजेसम्मको समय दिइएको छ ।
पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा दुईहजार एकसयभन्दा बढी नेपाली जम्मा भएका छन् ।
सरकारले जारी गरेको लकडाउन पनि जेठ ५ गते समाप्त हुँदैछ । कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।
