चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीको कडा निगरानी रहने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् । दुई सातादेखि क्वारेन्टाइनमा राखिएका उनीहरु बुधबार रातिदेखि बेपत्ता भएका हुन्
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले बिहीबार बिहान गन्दा ७२ जनमध्ये ५३ जना मात्र पुगेपछि मात्र १९ जना नरहेको थाहा भएको बताए । २४ घण्टा प्रहरीको ड्युटी रहेको स्थानबाट १९ जना कहाँ गए भन्ने प्रश्नमा डीएसपी भारतीले भने, ‘त्यो खोज्दै छु, बुझ्दै छु ।’
यसैबीच, उक्त क्वारेन्टाइनस्थलको सुरक्षा गरिरहेका इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सागिर राइनसहित पाँच प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरी तानिएको छ । राइनको स्थानमा नयाँ प्रहरी नायव निरीक्षक पठाइएको छ ।
नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका ७२ जना भारतीयलाई १ नम्बर प्रदेशमा प्रवेश नदिइएपछि दुई सातादेखि क्वारेन्टाइनमा राखिएको थियो । सबैको भोजनको खर्च तथा सुत्नेबस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिकाले थियो ।
बुधबार राति एउटा कोठामा रहेका १९ जना गायब भएको सूचना क्वारेन्टाइनमा रहेका अन्यले बिहीबार बिहानमात्र थाहा पाएका थिए । गायब भएका सबैको जुत्ता, चप्पल र ब्याग कोठामै रहेको छ । उनीहरुको सामान्य ज्वरो जाँच्ने काममात्रै भएको थियो ।
कोसी ब्यारेज प्रदेश नम्बर १ र २ को बोर्डर हो । गायब भएकाहरु सुनसरी प्रवेश गरेका छैनन् । कोसीमा रहेका सबै डुंगा स्थानीय तह र प्रहरीले नियन्त्रणमा राखेकाले उक्त विकल्प प्रयोग जान सक्ने अवस्था पनि नरहेकाले घटना शंकास्पद रहेको स्थानीय बासिन्दाले बताए । उनीहरु नेपालकै कुनै बस्तीमा गएर लुकेको हुन सक्ने पनि उनीहरुको भनाइ छ ।