राहत वितरणमा असन्तुस्टी जनाउदै स्थानिय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गर्न लागेको फोटो खिच्न लागेका एक पत्रकारलाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ । तर वडाध्यक्षको कुटाइ खाएका तिनै पत्रकारलाई प्रहरीले वडाध्यक्षलाई कुटपिट गरेको आरोप लगाइएको छ।
रेडियो धनगढीका पत्रकार लोक कार्की राहत वितरणका क्रममा स्थानीयले केआइसिंह गाउँपालिका–४ को वडा कार्यालयमा बुधबार ताला लगाउन खोजेपछि समाचार सङ्कलन गर्न त्यहाँ पुगेका थिए। स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफुले फोटो खिच्ने क्रममा वडाअध्यक्षले एक्कासी हातपात गरेको पत्रकार कार्कीले बताए । फोटो खिच्ने क्रममा वडाअध्यक्षले मोबाईल खोस्न थालेपछि मोबाईल नदिदाँ आफुमाथी हातपात गर्नुका साथै प्रहरीले विना कारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीले जानकारी दिए ।
समाचार सङ्कलन गर्न गएका पत्रकार कार्की माथी भने प्रहरीले वडाध्यक्षलाई कुटपिट गरेको भन्ने आरोप लगाइएको छ । पत्रकार कार्कीसहित अन्य तीन जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ र उनीहरुलाई वडाध्यक्षमाथि कुटपिट गरेको अभियोग रहेको प्रहरीले जानकारी दिएको छ।