तनहुँको भानु १ भन्सारका २१ वर्षका प्रवीण गुरुङको हत्या भएको भन्दै उनका आफन्तले वडाध्यक्षसहित १६ जनाकाबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।
गत बिहीबार एक युवक मृत भेटिएको प्रकरणमा तनहुँ प्रहरीले जन प्रतिनिधिसहित १६ विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान थालेको छ । घरबाट घुम्न भनि बुधबार घरबाट निस्किएका गुरुङको शब भोलिपल्ट दिउँसो भानु नगरपालिका ६ नाब्रुँगको फापरखोल्सामा फेला परेको थियो ।
स्थानीय युवासँगको झडपमा मृत्यु भएका ठानिएका गुरुङको मृत्युको घटनामा आफन्तले किटानीसहित भानु ६ का वडाध्यक्ष प्रकाश मल्ल ‘टाइसन’सहित १६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको माग गर्दै जाहेरी दिएका थिए । घटना थाहा भए पनि लुकाउन भूमिका खेलेको भन्दै स्थानीयले यसमा वडाध्यक्ष मल्लको जिम्मेवारी रहेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले सबलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए।
घरबाट साथीभाईसँग नाब्रुङ गएका प्रवीणले स्थानीय एक होटलमा खाजा खाएका थिए । साथीहरुसँग नै रहेका बेला स्थानीय युवासँग होटलमा खाजा खाने क्रममा उनीहरुबीच विवाद भएको स्थानीयको भनाइ छ । विवाद बढेपछि उनका अन्य तीन जना साथीहरु भागेर घर फर्किएका थिए भने प्रविन घर नफर्केपछि परिवारले खोजी गर्दै जाँदा घटनाको भोलिपल्ट दिउँसो भीरबाट केही तल खोल्सामा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेका अनुसार, शबको टाउको र कानमा चोट छ । भाग्ने क्रममा उनी भीरबाट खसेको वा झडपमा ज्यान गएको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।