काठमाडौं, १३ पुस ।
प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।
माओवादी हेडक्वार्टरको बुधबार बिहान बसेको बैठकले स्थानीय निकायको पुरानै संरचनाको नभई नयाँ स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिएको छ । र, एमाले र मधेसी मोर्चासँग छलफल गरेर एक साताभित्रै स्थानीय तहको चुनाव घोषणा गर्ने माओवादीले निर्णय गरेको छ ।
बैठकले संविधान संशोधन विधेयक र निर्वाचनसम्वधी ऐन कानुनलाई पनि अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।
चुनाव घोषणा गर्ने निर्णयसँगै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले बुधबार नै प्रधानमन्त्री कार्यालय सिंहरदरबारमा कांग्रेस, एमाले र माओवादीसहित तीन दलको बैठक बोलाएका छन् ।