कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ चैत्र २०७६
  • 4.9K
    Shares

सुलभ अग्रवाल

ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गरेर कालो बजारी गरेको आरोपमा प्रहरीले शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। तीन हजार मूल्य पर्ने थर्मल-गनलाई १५ हजार रुपैयाँमा बिक्री गरेको आरोप प्रहरीले लगाएको छ।

उनलाई कूटनीतिक नियोगको गाडीमा थर्मल-गन विक्री गर्दै हिँडेको अवस्थामा मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमान्डौको नक्सालबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार, उनको साथबाट ६६ थान थर्मल-गन बरामद भएको छ भने उनले प्रयोग गरेको निलो २०९८ एचसीसी १ नम्बर प्लेटको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्। साथै उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।

शंकर ग्रुपले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।

२२ टन सामान लिन नेपाल बायु सेवा निगमको जहाज जम्मा ७.५ टन मात्र सामान लिएर फर्किएको थियो।   अग्रवालले चीनबाट ल्याएका सामान मध्ये केही बिक्री गरिसकेको र बाँकी कता लुकाए भन्ने बारेमा प्रहरीले खोजिरहेको छ।  शनिबार दिउँसो पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालको घर र कार्यालयमा प्रहरीले छापा हानेको छ । तर प्रहरीले कुनै सामान बरामद गर्न सकेन।

महाशाखाको विशेष टोलीले नक्सालस्थित शंकर ग्रुपको भवन र बालुवाटारमा रहेको अग्रवालको निवासमा छापा हानेको थियो । तर, दुवै स्थानमा प्रहरीले मेकिडल सामग्री फेला पार्न नसकेपछि रित्तो हात फर्किएको समाचारस्रोतले दाबी गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले अग्रवालविरुद्ध कालोबजारी ऐनअनुसार म्याद थप गरी कानूनी प्रक्रिया अघि बढाइने जानकारी दिए ।

प्रतिक्रिया