म घर खाेजिरहेछु
==========
तिमीले घरभित्रै बस्ने अादेश दियाै
म बेघरबार
एउटा गुन्टामा सिङ्गो पृथ्वीकाे भार
शिरमा अड्याएर
अाफ्नै देशभित्र
निर्वासित पैतालाले
घर खाेज्दै हिँडिरहेको छु
अनुमति छैन
एक मिटर पनि हिड्न
म सयौं माइलकाे यात्रा
घरभित्रै बस्ने
तिम्रै अादेश पालना गर्न
घर खाेज्दै हिडिरहेकाे छु
मुसाकाे दुलाेमा अटाउदिनँ
चराको गुँडमा रहन सक्दिनँ
पानीभित्र पसेँ भने निस्सासिन्छु
जङ्गलभित्र छिरेँ भने
अातङ्ककारी भनेर
तिमी नै गाेली ठाेक्छाै
त्यसैले घरभित्रै बस्न
म घर खाेज्दै हिँडिरहेको छु
मैले पाएकाे सुरक्षित अाेत
अामाकाे गर्भ बाहेक
अरू ठाउँ भएन
जहाँ फेरि म
फर्कन सक्दिनँ
त्यसैले घरभित्रै बस्ने
तिम्रो अादेश पालना गर्न
म घर खाेज्दै हिडिरहेकाे छु
अादेश उलङ्घनकाे भरपाइमा
लैजाऊ मलाई कारागार र
थुन झ्याल नभएको कालकाेठरीमा
जुन बन्नेछ
केही बेरका लागि भए पनि
मेरो घर
जसले टुङ्याइदिनेछ
मेराे घर खाेज्ने यात्रा र
हुनेछ शतप्रतिशत
तिम्रो घरभित्रै बस भन्ने
बेजोडकाे अादेश पालना ।
(फाेटाे सामाजिक सञ्जाल)