सरकारले कोरोना संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेपछि पोखरेली जनताको चुल्होमा तरकारीको अभाव देखिएको अवस्थामा पोखराको शान्तिवनस्थित तरकारी बजारमा करोडौं मूल्य बराबरको तरकारी कुहिएर जाने अवस्थामा रहेका छन्।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण र रोकथामको लागि सरकारले अवलम्बन गरेको लकडाउनले अत्यावश्यक बस्तुको कृतिम अभाव र महँङ्गी हुन सक्ने भन्दै अनुगनामा निस्केका गण्डकी प्रदेशका वन, वातावरण उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले यस्तो अवस्था देखेका हुन्।
गण्डकी प्रदेशका मन्त्री लम्साल बुधबार पोखराको शान्तिवनस्थित कृषि उपज बजारको आकस्मिक अनुगमनमा पुग्दा त्यहाँ प्रशस्त मात्रामा तरकारीहरू स्टक देखिएका थिए। तर बिक्री गर्ने समय कम र ग्राहकको अभावकाकारण तरकारी कुहिने अवस्थामा रहेका थिए।
बजार अनुगमनमा पुगेका प्रदेश मंत्री लम्साललाई त्यस तरकारी बजारमा रहेका ब्यबसायीहरुले बजारमा पर्याप्त तरकारी र फलफूल रहेको तर विक्री वितरणको समय कम भएको गुनासो गरेका थिए। कृषि उपज बजारका व्यवसायी राजकुमार गुप्ताले बंगलादेश भारतदेखि आएका सामान बीचमा अड्किएको र विक्रीवितरणको लागि दुई घण्टाको अवधि पनि थोरै दुखेसो पोख्दै अघि भने, “जम्मा दुई घण्टाको सट्टा विहान ४ बजेदेखि ८ बजे सम्म स्वास्थ्य सतर्कतासहित सावधानी अपनाएर विक्रीवितरण गर्न वातावरण भए तरकारी फलफूलहरु वितरण सहज हुन्थ्यो र कुहिएर फाल्नु पर्ने अवस्था आउँदैनथ्यो ।” उनले लकडाउनको फाईदा उठाएर तरकारी ढुवानी गर्ने ट्रकहरुले झन्डै दोब्बर भाडा असुल्ने गरेको पीडा सुनाए।
तरकारी बजारको दु:ख, पीडा र समस्याहरु सुनेपछि गण्डकी प्रदेशका वन, वातावरण उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले समस्या समाधानका लागि उचित पहल गर्ने बचन दिए
बजारमा १५ दिनसम्म पुग्ने तरकारी फलफुल रहेको देखेका उपभोक्ता हितक्रर्मी कपिल्नाथ कोइराला,’अब फुुटकरमा कसरी विक्री वितरण हुन्छ त्यसको पनि निगरानी गरेर बढी मूल्यमा बेचेको पाइए नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने” बताउछन।
उद्योग वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले अनुगमनको क्रममा अत्यावश्यक बस्तुको अभाव र मूल्यवृद्धि नदेखिएको जानकारी दिए।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय पोखराका प्रमुख प्रशान्त पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कास्की प्रहरी प्रमुख दानबहादुर कार्की लगायतकोसहभागिता थियो।