भारतले नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेक मिचेकोबिरुद्ध बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ।
पार्टी प्रबक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेक मिचिएको बिरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
पार्टी प्रबक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्ति अनुसार, विज्ञप्तिमा मङ्सिर १५ गते देखी २६ गतेसम्मका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । संघर्षका कार्यक्रमहरु अन्तर्गत जुलुुस प्रदर्शन, अन्तरक्रिया, सिमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दुतावास अगाडी प्रदर्शन, ज्ञापन पत्र बुझाउने र साहित्यिक कार्यक्रम रहेकाछन् ।
सो विज्ञप्तिमार्फत ने.क.पा.ले बर्तमान केपी सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको बताएको छ । देशको माटो रक्षार्थ उठेको आक्रोस, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको भन्दै नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरु कुनै तरिकाले पराजित नहुने कुरा विज्ञप्तिमा उल्लेख गरेको छ ।
ने.क.पा.ले भारतले नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि यस अघि भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध ने.क.पा.ले एकहप्ते संघर्षका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।
