पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यको पोखरा-१७ बिरौटास्थित घरमा सोमबार सबेरै बिहान २ बजेर ४५ मिनेटमा बम विस्फोट भएको छ। बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
घर परिसरमा बम पड्किएर गाडी क्षतिग्रस्त भएको वडाअध्यक्ष आचार्यको पारिवारिक स्रोतले पनि पुष्टि गरेको छ। बम बिष्फोट कसले किन गराएको हो खुलेको छैन। बम बिस्फोटको घटनाको अहिलेसम्म कसैले जिम्मेवारी पनि लिएको छैन।
विस्फोटबाट भएको क्षति विवरण आउन बाँकी रहेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
उपनिर्वाचन नजिकिँदै गर्दा बम विस्फोटको घटना हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।