दोलखा जिल्लाको विगु गाउँपालिका–५ स्थित चिलंखाको स्याँखु गाउँका एक दम्पतीमाथि ‘बोक्सा–बोक्सी’को आरोप लगाउँदै गाउँले भेलामार्फत लिखित निर्णय गरी गाउँ निकाला गरिएको छ।
स्यााखु गाउँका ५८ वर्षीया रत्नबहादुर श्रेष्ठ र उनी श्रीमती कृष्णकुमारी श्रेष्ठलाई मंसिर १ गते गाउँलेले भेला गरी ‘इन्द्रजाल’ किताब कण्ठ पारेर गाउँभरी ‘भेदेका’ कारण गाउँले विरामी परेको र वस्तुभाउ मरेको आरोप लगाएका थिए।
निर्णयमा उनीहरुले पीडित रत्नबहादुरले कँहीकतै गएर आफ्नो ज्यान तलमाथि गरेमा १ सय १३ घरधुरी जिम्मेवार हुने छैन् भनी लेखेका छन्। यस्तै रत्नबहादुर र अर्का कर्णबहादुर मगरले ईन्द्रजाल किताब पढी आएको र उक्त किताब धामी झाँक्री समुहमा १५ दिनभित्र बुझाउन भनिएको छ। निर्णयको अन्तिममा रत्नबहादुरले गल्ती गरेकाले उनलाई अब उप्रान्त गाउँको उपभोक्ता समुह र धामी झाक्री समुहमा आवद्ध नगराउने भनेर लेखिएको छ। उनलाई गाउँ छाडेर जान भनेर माईन्युटमा नलेखिए पनि अडियो रेकर्डमा गाउँलेले भनेको सुनिन्छ।
टोल सुधार समितिको आव्हानमा भएको भेलामा उपस्थित एकसय १३ जना स्थानीयले हस्ताक्षर गरी उनीहरुलाई ल्याप्चे लगाएर आरोप स्वीकार गर्न लगाइएको थियो । गाउँले भेलाको अडियो रेकर्डमा श्रेष्ठ दम्पतीलाई गाउँलेले लगाएको आरोप र उनीहरुले आफुहरु ‘बोक्सा बोक्सी’ नभएको भनेको कुरा सुनिन्छ।
उक्त दिन बिहान ८ बजे बोलाइएको भेलामा आफ्ना माता पितालाई ५ बजेसम्म राखेर ९ घण्टा मानसिक यातना दिइएको पीडितका जेठा छोरा भाजुराम श्रेष्ठले जानकारी दिए।
यसैबीच बोक्सीको आरोप लगाउदै गाउनिकाला गर्नेहरुलाई कार्बाहीको माग गर्दै ९ जनाविरुद्ध जाहेरी दिइएको छ। जाहेरीलगतै प्रहरीले टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलाई पक्राउ गरेको छ।