मेडिकल माफियाबिरुद्ध संघर्षरत समितिका संयोजक प्रकाश चन्द फसाउन चितवन मेडिकल कलेजको होस्टेलमा अत्याधुनिक हतियारको प्रोपगाण्डा !

मेडिकल माफियाबिरुद्ध संघर्षरत समितिका संयोजक प्रकाश चन्द फसाउन चितवन मेडिकल कलेजको होस्टेलमा अत्याधुनिक हतियारको प्रोपगाण्डा !


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ मंसिर २०७६
  • 5.5K
    Shares

चितवन मेडिकल कलेज, चितवन

सरकारले तोकेको भन्दा बढी रकम फिर्ताको माग गर्दै देशभरका चिकित्सा शास्त्र पढ्ने बिद्यार्थीहरु आन्दोलन गरिरहेका छन्।  बिद्यार्थीहरुको माग वमोजिम नै बढी असुलिएको रकम फिर्ता गर्न सरकारले चिकित्सा शास्त्र पढाउने कलेजहरुलाई निर्देशन दिएको मात्र हैन ताकेता पनि गरिरहेको छ। तर सरकारलाई चिकित्सा शास्त्र पढाउने कलेजहरुले टेरपुच्छर लगाएका छैनन्।

सरकारले तोकेकोभन्दा बढी रकम असुल गर्ने चितवन मेडिकल कलेज भरतपुरले पनि सरकारको निर्देशनलाई टेरपुच्छर लगाएको छैन। यही मेडिकल कलेजले उठाइरहेको गैरकानुनी शुल्कको विरोध गर्दै बिप्लव पुत्र प्रकाश चन्दको नेतृत्वमा उक्त कलेजमा अध्ययनरत विद्यार्थीले एक संघर्ष समिति गठन गरेका छन् र उनीहरु कलेज प्रशासनकाबिरुद्ध निरन्तर आन्दोलन गरिरहेका छन्।

चितवन मेडिकल कलेज प्रशासनबिरुद्ध आन्दोलनरत सो संघर्ष समितिले आइतबार चितवनमा सर्वसाधारण सम्मिलित बृहत् आमसभा गर्ने तयारी गरिरहेको थियो। त्यसैको पूर्वसन्ध्यामा चितवन मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टलमा हतियार फेला परेको चितवन प्रहरीले दाबी गरेको छ।

शनिबार साँझ चितवन प्रहरीले १११७ मोडलको अमेरिकन पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार पेस्तोलमा लाग्ने म्यागजिन एक थान, गोली दुई थान बरामद भएको छ। सँगै प्रहरीले थ्री नट थ्री राइफलको गोली एक थान, खोका एक थान, एसएलआर राइफलको ६ थान खोका, रातो र कालो तार चार मिटरसहित एउटा निलो झोला बरामद गरेको प्रवक्ता कोइरालाको भनाइ छ।  चितवन मेडिकल कलेजको होस्टलको चौरमा पेस्तोल र गोली भेटिएपछि प्रहरीले होस्टलको सुरक्षामा खटिएका चारजना सुरक्षा गार्डलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

सीएमसीको होस्टलमा कलेज प्रशासनले हतियार ल्याएको भनी परेको उजुरी
सीएमसीको होस्टलमा कलेज प्रशासनले हतियार ल्याएको भनी परेको उजुरी

सो हतियार कसको र कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

‘पहिले कसको हो भन्ने पुष्टि भएपछि मात्र पक्राउ गर्ने कुरा हुन्छ,’ चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले होस्टलमा हतियार र केही राउन्ड गोली फेला परेपछि प्रहरीले मुचुल्का उठाएर अनुसन्धान थालेको जानकारी दिए।

यसैबीच प्राप्त जानकारी अनुसार, सोही हतियारसँग जोडेर मेडिकल माफियाबिरुद्ध संघर्ष समिति बनाएर चर्को आन्दोलन गरिरहेका बिप्लव पुत्र प्रकाश चन्दलाई गिरफ्तार गर्ने तयारी गरेको छ।  उनकै नेतृत्वमा गठित संघर्ष समितिले आइतबार भरतपुरमा सर्वसाधारण सम्मिलित मेडिकल माफियाबिरुद्ध बिशाल आमसभा गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया