कथित दलितको घरमा लगाइएको पुजाको मण्डप छाडेर भाग्ने पुजारीलाई प्रहरीले पक्राउ गरेको छ। अहिले इलाका प्रहरी कार्यालय चन्द्रौटाको हिरासतमा रहेका अभियुक्त पुजारी कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–८ चप्पर गाउँका ६५ वर्षीय भीमप्रसाद पोख्रेल रहेका छन्। उनीसंगै पुजा गर्न गएका अर्का पुजारी भने फरार छन्। उनको पहिचान खुलाइएको छैन।
पुजारी पोख्रेललाई प्रहरीले जातीय छुवाछुत तथा अपमाजनक व्यवहारको कसुर अन्तर्गत कारवाही अघि बढाएको छ . पक्राउ गरिएका पुजारी पोख्रेललाई ७ दिनको म्याद थप गरी थप गरी घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले बताए।
गत शनिबार शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटाका मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजालगायतको कार्यका लागि पुगेका पुजारीहरू पूजा सुरु गर्ने क्रममा घरमुली दलित भएको भन्ने थाहा पाएपछि बाहाना बनाएर पूजा मण्डप छोडेर भागेको घरमुली विश्वकर्माले जानकारी दिए ।
छुवाछुत तथा अपमाजनक व्यवहारको कसुर प्रमाणित भए ३ वर्ष कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था रहेको छ।