उच्च अदालतले छाडेपनि कास्की प्रहरीद्वारा पत्रकार घिमिरे फेरी गिरफ्तार

उच्च अदालतले छाडेपनि कास्की प्रहरीद्वारा पत्रकार घिमिरे फेरी गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ मंसिर २०७६
  • 7.7K
    Shares

उच्च अदालत पोखरा परिसर पोखरामा पत्रकार राजकुमार घिमिरे

उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएपनि संचारकेन्द्र डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित यातायात ब्यबस्था कार्यालय लाइसेन्स शाखाबाट गएको मंसिर १ गते गिरफ्तार गरिएका पत्रकार घिमिरेलाई आज उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएको थियो।  अदालतको आदेशमा रिहा भएका पत्रकार घिमिरे प्रहरी हिरासतमा रहंदा राखिएका आफ्ना सामाग्रीहरु लिन वडा प्रहरी कार्यालय बैदाम पोखरामा गएको बेला वडा प्रहरी कार्यालय रामबजार पोखराको टोलीले फेरी गिरफ्तार गरेको हो।  उनलाई अहिले वडा प्रहरी कार्यालय राम्बजारको हिरासतमा राखिएको छ।

पत्रकार राजकुमार घिमिरेको पक्षमा उच्च अदालत पोखराले जारी गरेको आदेश
पत्रकार राजकुमार घिमिरेको पक्षमा उच्च अदालत पोखराले जारी गरेको आदेश

गएको मङ्सिर १ गते गिरफ्तार गरी यातायात कार्यालय पोखरामा आएका सेवाग्रहीलाई अभद्र ब्यबहार गरेको भन्दै प्रहरीले झुठ्ठा मुद्दा दर्ता गरेको थियो।  त्यसपछि पत्रकार घिमिरेका बुबा रामचन्द्र घिमिरेले उच्च अदालत पोखरामा आफ्नो छोरा राजकुमार घिमिरेलाई गैरकानूनी तरीकाले थुनेर राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका थिए।

 

 

उक्त मुद्दामा आज य्च्च अदालत पोखराका मुख्य न्यायधिश यज्ञ बत्स्याल र न्यायाधिश बिनोदप्रसाद आचार्यको संयुक्त इजलाशमा बहश हुँदा सो इजलाशले पत्रकार घिमिरेलाई निर्दोष भन्दै रिहा गर्न आदेश दिएको थियो। आजको थुनछेक बहसमा अधिवक्ताहरु गोबिन्द पौडेल, सन्तोष कोइराला , राम बुढा र शिव सुनारले पत्रकार घिमिरेको तर्फबाट बहस गरेका थिए।

पत्रकार घिमिरे गिरफ्तार गरिएको भोलिपल्ट पार्टी परित्याग गरेका अखिल क्रान्तिकारी लमजुङ्गका तात्कालिन अध्यक्ष सुनिल कुमाललाई कानुनी परामर्श लिन गएका बखत जिल्ला अदालत कास्कीबाट गिरफ्तार गरेको छ।  त्यस्तै जिल्ला कारागार कास्कीमा रहेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी लोकेन्द्र बिक ‘सुजन’लाई भेट गर्न अछामबाट आएका उनका भाई बाबुलाल बिक लगायत दुई जनालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको आफन्तजनले जानकारी दिएका छन्।

त्यस्तै ने.क.पा. समर्थित तमुवान जनसरकार प्रमुख किसानसिंह गुरुङ र पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका ने.क.पा. लमजुङ्गका तात्कालीन सेक्रेटरी बिनोद सोनाम र ने.क.पा.का युवा नेता भीमसेन परियार पनि कास्की प्रहरीकै हिरासतमा बन्दी जीवन बिताई रहेका छन्।  यस अघि पत्रकार घिमिरेसंगे पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अघिबाट गिरफ्तार गरिएका ने.क.पा.का युवा नेता बुलेट भन्ने संजिव कार्की अहिले कास्की जिल्ला कारागारमा बन्दी छन्।

प्रतिक्रिया