करीब डेढ वर्ष हुँदा पनि वलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको सरकारले सो हत्याकाण्डमा दोषीमाथि कडा कारवाहीको माग गर्ने कञ्चनपुरका चर्चित पत्रकार एबम दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ‘सार्वजनिक अपराधको अनुसन्धानको शिलशिलामा’ भन्दै प्रहरीले सम्पादक भण्डारीलाई कार्यालयबाटै आज नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले सम्पादक भण्डारीलाई भीमदत्त नगरपालिका – १८ कटानस्थित दैनिक मानसखण्डको कार्यालयबाटै पक्राउ गरेको हो । २०–२५ जना प्रहरीको टोली पक्राउ पूर्जी लिएर शनिबार दिउँसो सवा १२ बजे कार्यालयमै पुगेको थियो ।
कञ्चनपुरमा लामो समय पत्रकारितामा रहेका भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् । दैनिक मानसखण्डले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा प्रहरीले अपहरण शैलीमा महेन्द्रनगरको बसपार्कमा होटल व्यावसाय गर्दै आएका दुई युवतीलाई नियन्त्रणमा लिएको समाचार छापेको थियो ।
मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक भिम प्रसाद दहालले बताए ।
प्रेस चौतारी नेपालले उक्त घटनाप्रति खेद प्रकट गरेको छ । चौतारीका महासचिव राजेश राईले शनिबार एक विज्ञप्ति निकाल्दै पत्रकार भण्डारीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।