बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको बताइएको छ। उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा राखिएको प्राप्त जानकारीमा उल्लेख छ।
समाचार संकलनकै क्रममा पक्राउ परेको भनिएका पत्रकार घिमिरेलाई के कारण पक्राउ गरिएको हो भन्ने बारेमा प्रहरीले स्पस्ट पारेको छैन।
कास्की जिल्लाको रुपा गाउँपालिका सिद्द देउराली घर भएका पत्रकार घिमिरेलाई यसभन्दा अघि पनि असार ४ गते पोखराको पृथ्वीनारायण क्याम्पस गेट अघिबाट गिरफ्तार गरिएकोमा पत्रकार भएको पाइएपछि पांच घण्टापश्चात छाडिएको थियो। तर उनीसंगै गिरफ्तार भएका ने.क.पा.का युवा नेता संजिव कार्की ‘बुलेट’ अहिले पनि कास्की कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

यसैबीच संचारकेन्द्र डटकमले आफ्ना संवाददाताको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । इमान्दार मिडिया प्रालिका अध्यक्ष तथा सञ्चारकेन्द्र डटकमका सञ्चालक कमल बुढाले आफ्नो मिडिया हाउसका सञ्चारकर्मीलाई गणतान्त्रिक देशको प्रहरीले राणाकालिन शैलीमा गिरफ्तार गरेर फासिवादी चरित्र देखाएको भन्दै यस्तो हर्कत नदोहोर्याउन सरकारसँग अनुरोध गर्दै रिहा गर्न समेत माग गरेका छन् ।
त्यस्तै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य, गण्डकी-धवलागिरी संयोजक ओम हमाल र अर्का केन्द्रिय सदस्य एबम कास्की जिल्ला संयोजक रमाकान्त बास्तोलाले पनि एक फेसबुक स्टाटस राख्दै पत्रकार घिमिरेलाई तुरुन्त रिहा गर्न माग गरेका छन्। उनले राज्यद्वारा प्रेसमाथी भईरहेको हस्तक्षेप बन्द गर्न पनि भनेका छन्।