आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई कारवाही गरेको छ ।
सत्तारुढ नेकपा बागलुङ्गले पार्टीका जिल्ला तहका नेता तुलसीराम अर्याल र दधिराम अर्याललाई कारवाही गरेको हो। नेकपाले शुक्रबार तुलसीरामलाई पार्टी सदस्यबाट निलम्बन र दधिरामलाई पार्टी सदस्य नरहने गरी निश्कासन गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
उनीहरुले शेरमानको उम्मेदवारी कायमै रहेको भन्दै उनले पाएको चुनाव चिह्न क्लिपमा भोट माग्दै हिंडेको आरोप सत्तारुढ नेकपाले लगाएको छ।
पार्टी समर्थित गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका रास्ट्रिय जनमोर्चाका नेता खिमबिक्रम शाहीका बिरुद्ध बागी उम्मेद्वार बनेका सत्तारुढ नेकपाका नेता शेरमान घर्तीलाई उम्मेद्वारी फिर्ता लिने अन्तिम दिन ब्यापक दबाब दिइएको थियो। उनलाई उम्मेद्वारी फिर्ता गराउन सत्तारुढ नेकपाका नेताहरुले हेलिकप्टर लिएर उनको घरसम्म पुगेका थिए।
अन्तत: ब्यापक दबाब पछि हेलिकप्टर चढेर आफ्नो उम्मेद्वारी फिर्ता लिन सदरमुकाम बाग्लुङ्ग आएका शेरमान घर्तीले समय अभावकारण उम्मेद्वारी फिर्ता लिन पाएनन। उम्मेद्वारी फिर्ता लिने समयभन्दा ढिलो पुगेका उनले आफ्नो उम्मेद्वारी फिर्ता लिन नपाएका हुन्।
यता सत्तारुढ नेकपाले कारवाही गरेका तुलसीराम अर्याल र दधिराम अर्यालमाथि शेरमानलाई बागी उठाउने, उम्मेदवारी फिर्ता नलिन दबाब दिने र हेलिकोप्टर लिन जाँदा पनि ढोका थुनेर राखेको आरोप लगाइएको छ । दधिराम अहिले पनि शेरमानको चुनाव चिह्न क्लिप बनाएर प्रचार प्रसारमा लागेपछि निश्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उम्मेद्वारी लिने समयभन्दा पछि पुगे पनि बागी उम्मेदवार शेरमान घर्तीले पत्रकार सम्मेलन गरेर आफू उम्मेदवार नरहेको भन्दै नेकपा समर्थित बामपन्थी उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन गरेको जानकारी दिएका थिए ।
निश्कासनमा परेका दुवै नेता यसअघि नेकपा मसालमा थिए । तुलसीराम २०७० मा माओवादीबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए भने दधिराम नेकपा एमालेबाट गत चुनावमा प्रदेशसभामा सिफारिस भएका थिए । तर उनको ठाउँमा राष्ट्रिय जनमोर्चालाई छाडिएपछि उम्मेदवारी फिर्ता भएको थियो ।