नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताको भिरबाट लडेर मृत्यु भएको छ। कालिकोट जिल्लाको पलाता गाउँपालिका–५ खिन निवासी ने.क.पा.का एरिया कमिटी सदस्य हरिचन्द विक ‘हृदय’को भिरबाट खसेर मृत्यु भएको हो।
‘ने.क.पा. जिल्ला सेक्रटरी मनीलाल ऐडीका अनुसार, ने.क.पा. कालिकोटको एरिया नम्बर ५ का सदस्य हरिचन्द्र विकको बिहीबार साँझ स्थानीय भीरबाट लडेर मृत्यु भएको हो। उनी पार्टीका जिल्ला सचिवालय सदस्य, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली ब्यूरो संयोजक पदमबहादुर विकका दाइ हुन्।
छलाहाँ गाउँबाट खिन घरतिर जाँदै गर्दा उनी भीरबाट खसेका हुन्। उनको घटनास्थलमै ज्यान गएको हो।
यसैबीच ने.क.पा। कालिकोटले एक शोक वक्तव्य जारी गर्दै पार्टीको एरिया कमिटी सदस्य विकको निधनले सिंगो पार्टीलाई ठूलो क्षति भएको जनाएको छ।
नेकपा कालिकोटका इन्चार्ज कर्णबहादुर भण्डारी ‘बिराड’ र जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदीपले संयुक्त रुपमा शोक वक्तव्य निकाल्दै पार्टीका जुजारु नेता विकको निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रदाञ्जलि दिँदै उनका परिवारजनमा समवेदना दिएका छन्।
