अख्तियारले सर्बोच्च अदालतका कर्मचारीलाई पहिलो पटक घुस मागेको आरोपमा पक्राउ गरेको छ। बैंकिङ कसुर र अनियमिततामा मुद्दा चलाइएका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीसँग मुछिएका आरोपी देवजंग शाहीलाई साधारण तारेखमा राख्ने प्रयोजनका लागि पैसाको ‘बार्गेनिङ’ गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका नायब सुब्बा सुधीर खड्कालाई पक्राउ गरेको हो ।
नासु खड्कालाई अख्तियारको टंगालस्थित हिरासतमा राखिएको छ। उनलाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियारलाई १५ दिनको अनुमतिसमेत दिएको छ। ‘घुस रिसवतमा समातिएको भनेर मंगलबार उहाँलाई थुना अनुमतिका लागि अख्तियारले २० दिनको म्याद मागेको थियो। अदालतबाट १५ दिनको थुना म्याद दिइएको छ,’ विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले भने, ‘उहाँलाई १८ गते पक्राउ गरेको जानकारी अख्तियारले दिएको छ।’
भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुन्न पठाएका अभियुक्तलाई छुटाइदिन रकम वार्गेनिङ्ग भैरहेको भन्दै अभियुक्तकै आफन्तले अख्तियारलाई दिएको सूचनाका आधारमा नासु खड्का पक्राउ परेको बताइएको छ।
सर्वोच्चका अधिकारी भने यस विषयमा बेखबर छन्।सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले आफू अस्पतालमा रहेकाले यस विषयमा जानकार नभएको बताए।
यता, सर्वोच्च नजिकै रहेको महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र कर्मचारी ट्रेड युनियनको कार्यालयमा भने भित्रभित्रै चर्चा चुलिएको छ।
सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले नासु खड्का पक्राउ परेको बारे अनौपचारिक जानकारी आएपनि ‘रिसवत लिए-नलिएको, कसरी कहाँबाट समातेको भन्ने कुरा थाहा पाउन नसकिएको ’ जानकारी दिए। समाचार स्रोत अन्नपुर्णपोस्ट डट कम