भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले प्रचण्डपुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोख्रेल पक्राउ परेका छन्। अविरल पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलेको छ ।
भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय पोख्रेललाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको र फरार अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो ।
आक्रमणकारीहरुलाई भरतपुरकी मेयर रेनु दाहालको संरक्षण रहेको शाही पक्षधरले आरोप लगाउँदै आएका छन् । चितवन प्रहरीसमेत दाहालको इशारामा चलिरहेको उनीहरुको दाबी छ ।