जुवातासबिरुद्ध अभियान नै संचालन गरिरहेको कास्की प्रहरीले जुवाखालमा छापा मार्ने क्रममा बरामद रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई निलम्बन गरी कारवाही प्रक्रिया अघि बढाएको छ।
निलम्वनमा परेका घुमुवा प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत रहेको घुमुवा प्रहरी इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई} सन्तोष सुबेदी, घुमुवा प्रहरीहरु जिवनाथ लामीछाने र अनिल ढकाल रहेको डिएसपी राजकुमार केसीले जानकारी दिए।
पोखराको लेकसाइडमा रहेको होटल क्रिष्टल प्यालेसमा केही दिन अगाडी प्रहरीले छापा मारेको थियो । उक्त स्थानबाट प्रहरीले ९ जना सहित करीब रु १० लाख बरामद गरेको थियो । बरामद भएको रकम मध्ये रु १ लाख २६ हजार छापा मार्न गएका उनीहरुले मिलेर लुकाएको बताइएको छ । उनीहरुले खालबाट बरामद मध्ये एक लाख २६ हजार लुकाएर आफ्नो स्कुटरको डिक्कीमा राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले ‘सो घटनामा बरामद भएको रकम मध्ये केही रकम अनियमितता भएको पाइएकाले उनीहरुलाई प्रारम्भिक छानबिन पश्चात निलम्वन गरी थप अनुसन्धान जारी रहेको’ जानकारी दिए। उनले ‘गल्ती गर्ने जो भए पनि कारबाही गरिने’ स्पस्ट पारे।
जुवातास्बिरुद्ध अभियान चलाईरहेको कास्की प्रहरीको यस्तो कर्तुत छताछुल्ल भए सँगै प्रहरी फेरी बिवादमा तानिएको छ । पछिल्ला जुवाका घटनामा प्रहरी बिवादित बन्दै आइरहेको छ । कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जुवा अपरेशनलाई तिब्रता दिएको भएता पनि तल्लो तहका प्रहरीले यस्ता हर्कत गरिदिदा कास्की प्रहरी प्रमुख कार्कीको जुवा अपरेशन कहाँ पुग्ने हो ? हेर्न बाँकी छ ।