वीरगञ्ज महानगरपालिकाको अग्नि नियन्त्रण महाशाखामा कार्यरत अग्नि नियन्त्रक बुनिलाल चौरसियाको शव तन्नामा बेरेर फालिएको अवस्थामा वीरगञ्जमा भेटिएको छ ।
वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी अग्नि नियन्त्रक चौरसियाको शव तन्नामा बेरेर फालिएको अवस्थामा वीरगञ्जको नगवा पोखरीको डिलमा भेटिएको हो । शबको कानबाट रगत बगेको तथा भुँडीमा धारिलो हतियारले काटेको चोट छ ।
बिहीबार घरबाट पैसा उठाउन भनी हिँडेका चौरसियाको मोबाइल सोही दिन साँझबाट नै अफ थियो ।
प्रहरी नायव उपरीक्षक गौतम थापाले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको बताए । तर उनले शबको पोष्टमार्टमपछि मात्र हत्या हो कि के हो एकिन गर्न सकिने स्पस्ट पारे।
शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।