कमल पौडेल अथक । नेपाल पत्रकार महासंघ कास्कीले महासंघका साधारण सदस्य एवं जनसंञ्चार डटकमका सम्पादक ओम हमालको रिहाइको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीको गेटमा आधा घण्टा धर्ना दिएको छ । विहान ११ बजेदेखि सुरु भएको धर्ना साढे ११ वजे सकिएको थियो ।
धर्नामा सहभागी पत्रकारहरुले पत्रकार ओम हमालको तुरुन्त रिहाइको माग गरेका थिए । त्यसपछि सहायक प्रजिअ श्रीनाथ पौडेल मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गरिएको थियो ।
महासंघ कास्कीका अध्यष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेल, कास्कीका सल्लाहकार एवं नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सल्लाहकार नवराज सुवेदी, इन्सेकका शिव खकुरेल, फोटो पत्रकार संघ गण्डकी अध्यक्ष राम गुरुङ, नेपाल प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठन कास्कीका अध्यक्ष सन्देश श्रेष्ठ, संसदीय पत्रकार मञ्चका अध्यक्ष लालप्रसाद शर्मा, महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी र कार्यसमिति सदस्य कमल पौडेल अथक लगायतले पत्रकार हमालको रिहाईको माग गरेका थिए ।
यसैवीच नेपाल प्रेस युनियन कास्कीले पनि वुधवार पत्रकार ओम हमालको रिहाईको माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशवहादुर केसी मार्फत संञ्चारमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अगुवाईमा केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, युनियनका अगुवाहरु कमल पौडेल अथक, टंकराज अधिकारी र विमला भण्डारी,सचिव प्रदीप पौडेल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी केसी मार्फत संञ्चारमन्त्रीलाई ज्ञापन पत्र वुझाएको हो ।
पत्रकार हमाललाई सर्वोच्च अदालतले मंगलवार रिहाई गरे लगत्तै प्रहरीले अदालत गेटवाट पुनः गिरफ्तार गरेको थियो ।