एमाले युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या, घटना राजनीतिकभन्दा आर्थिक लेनदेन: प्रहरी अधिकारी

एमाले युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या, घटना राजनीतिकभन्दा आर्थिक लेनदेन: प्रहरी अधिकारी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ पुष २०७३
  • 8.1K
    Shares

एमाले निकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहले गोलि हानि हत्या गरेको छ । सोमबार दिउँसो करिब साढे तीन बजे रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएका तिवारीको उपचारका क्रममा मृत्यु भएको हो l

गम्भीर घाइते उनलाई देवदह मेडिकल कलेजमा लगिएकोमा सोही अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए।

रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको मरासिनीले जानकारी दिए। उनका अनुसार गोली हान्ने समूहको पहिचान भएको छैन।  गोली हान्ने व्यक्तिहरुको खोजी कार्यलाई तिव्रता दिइएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार, युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज राना पुनको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । एक उच्च प्रहरी अधिकारीका अनुसार घटनापछि मनोजले घटना आफूले गराएको भनेका छन् । तर, प्रहरीले भने औपचारिक जानकारी नआएको बताएको छ ।

तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

तिवारीको केवीआई इँटा उद्योग छ । प्रहरीका अनुसार करिब ६ महिना अघि उद्योगमै उनीमाथि आक्रमण भएको थियो । उक्त घटनामा संलग्न ८ जना पक्राउ परेपछि मनोज भागेका थिए ।

पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमले भने, ‘तिवारीमाथि यसअघि पनि आक्रमणको प्रयास भएको रहेछ । त्यही समूह संलग्न भएको हुनसक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी अधिकारीहरुले यो घटना राजनीतिकभन्दा आर्थिक लेनदेनमा भएको हुनसक्ने आशंका गरेका छन् ।

तिवारीको हत्यापछि रुपन्देही तनावग्रस्त, आमहड्तालको घोषणा

एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेपछि देवदह क्षेत्र तनावग्रस्त बनेको छ। युवा संघले तिवारीको शव पोष्टमार्टमका लागि अस्पताल लैजान दिएको छैन।

हत्यारालाई कारवाहीको ग्यारेन्टी भए मात्रै शव उठाउन दिइने संघले जनाएको छ। प्रदेश नम्बर ५ विभाजन प्रस्तावको विरुद्धमा गठन भएको संयुक्त संघर्ष समितिले घटनाको निन्दा गर्दै आमहडतालको घोषणा गरेको छ। घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अनिश्चितकालका लागि आमहड्ताल गरिएको संघर्ष समितिका देवदहका अध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए।

अज्ञात समुहले देवदह नगरपालिका–३ निवासी तिवारीमाथि सोमबार दिउँसो साढे तीन बजे गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। पाँच नम्बर टुक्राउने प्रस्तावविरुद्धको आन्दोलनमा पनि उनले अगुवाई गरेका थिए।

देवदह–३ मा रहेको केविआई इट्टा उद्योगका सञ्चालक समेत रहेका उनलाई ०७२ साल फागुन ६ गते पनि हत्या प्रयास भएको थियो।

 

प्रतिक्रिया