एएफसी कपको छनोट प्ले अफ खेल्नबाट बञ्चित भएपछि थ्रीस्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ६ करोड माग गरेको छ । साथै उसले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ ।
एएफसीले पटक-पटक ताकेता गर्दा समेत एन्फाले नाम दर्ता नगरिदिएपछि राष्ट्रिय लिग विजेता थ्रीस्टार एएफसी कपको छनोट प्ले अफ खेलबाट बञ्चित भएको छ ।
मंगलबार ए, बी र सी डिभजनका क्लबका प्रतिनिधिलाई राखेर पत्रकार सम्मेलन गर्दै थ्रीस्टार क्लबले यो प्रकरणलाई एन्फालाई माफी दिन नसक्ने बताएको छ ।
उसले एन्फाको छानविन समितिलाई अस्वीकार गरेको छ र राष्ट्रिय खेलकुद परिषद्, ओलम्पिक कमिटी र खेलकुद मन्त्रालयलाई छानविन गर्न आग्रह गरेको छ । एन्फले उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।