प्रहरी र जिविसको ‘सेटिङ’ मा बालुवा चोरी

प्रहरी र जिविसको ‘सेटिङ’ मा बालुवा चोरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ मंसिर २०७३
  • 10.5K
    Shares

 ‘सर, बालुवा लोड भयो । म आउँदैछु, तपाईं बाटोमै हो ? फेरि लफडा होला’, भक्तपुर चाँगुनारायण नगरपालिका ११ बेंसीटोल दुवाकोटमा चोरीको बालुवा महिन्द्रा निसान गाडीमा लोड गरिसकेपछि चालकले सुरक्षाकर्मीसँग मोबाइलमा गरेको कुराकानी हो यो । भक्तपुरमा बालुवाखानी सञ्चालनमा रोक लगाइएकाले चोरी निकासी गर्नुअघि यसरी नै गाडी चालकले प्रहरीसँग सम्पर्क गर्छन् । बालुवा लिन जानुअघि र पछि पनि चालकहरू प्रहरीको सम्पर्कमै रहने गरेका छन् ।

‘कर्मचारी र प्रहरीसँग सेटिङ नमिलाए त कहाँबाट बालुवा लैजान सक्नु र सर’, एक चालकले भने, ‘हामी त वाहक मात्रै हौं । खानीवालाले बोलाउँदा नै सबै ‘सेटिङ’ भइसक्यो । बाटो खाली छ, डराउनु पर्दैन भनी बोलाउँछन् ।’

जिल्ला विकास समिति भक्तपुरले यहाँका कुनै पनि खानीलाई बालुवा उत्खनन स्वीकृति तथा अनुमति दिएको छैन । त्यसैले चोरी निकासी गरेर ल्याएको बालुवा भेटिए जिल्ला विकास समितिले नियन्त्रणमा लिएर सोहीअनुसारको बिगो जरिबाना गर्दै आएको छ ।

एक टिप बालुवा नियन्त्रणमा लिइए करिब २७ हजार रुपैयाँ बिगोबापत जरिबाना तिर्नुपर्छ । त्यसैले गाडी चालकहरू प्रहरीसँग सम्पर्कमा रहेर पनि सचेत किसिमले बालुवा चोरी निकासी गर्छन् । आफूहरूले प्रहरीलाई पनि ‘विश्वस्त’ स्रोत नमानेको चालकहरू बताउँछन् । त्यसैले कहिलेकहीं प्रहरीलाई छलेर बालुवा लैजानुपर्ने उनीहरूको भनाइ छ ।

स्थानीयले धेरै विरोध र उजुरी गरेपछि मात्रै जिल्ला विकास समिति र प्रहरीले एकदुईवटाको संख्यामा चोरीको बालुवा बोकेको गाडी समात्ने उनीहरूको दाबी छ । बालुवा समातिए पनि बिगो दिएर गाडी छुटाउन पाइने भएकाले चालकलाई कुनै समस्या नहुने उनीहरूले बताए ।

भक्तपुरका पुराना बालुवाखानी सञ्चालकहरूका अनुसार यहाँ बालुवा चोरी निकासी गर्ने गिरोह नै सक्रिय छ । उक्त गिरोहले प्रहरीका उच्च अधिकारी र जिल्ला विकास समितिका प्रमुख कर्मचारीलाई हातमा लिएको हुन्छ । त्यसैले वैध रूपमा बालुवाखानी सञ्चालन हुँदाभन्दा नहुँदा जिविस कर्मचारी र प्रहरी उच्च अधिकारीलाई बढी फाइदा छ ।

काठमाडौंबाट भक्तपुर छिर्ने धेरै नाका भएकाले बालुवा चोरी निकासी गर्न समस्या छैन । भक्तपुरभित्रै धेरै बाटा छन् । सबैले देख्ने एवं चलनचल्तीको नाकाबाट प्रहरीले बालुवा छुटाएपछि समाउने समस्या नै नहुने चालकहरू बताउँछन् । जिल्ला विकास समिति र प्रहरीकै मिलोमतोमा बालुवा चोरी निकासी भइरहेको स्थानीय बासिन्दाको दाबी छ ।

प्रहरी प्रशासन र जिविसमा बालुवा चोरी भइरहेको जानकारी दिँदा उल्टै उजुरीवालाले बालुवा बेच्नेहरूबाट ज्यान मार्ने धम्की आउने गरेको गुनासो चाँगुनारायण नपा ११ दुवाकोटका उद्धव खड्काले गरे । ‘बालुवा चोरी निकासी भइरहेको जानकारी दिँदा पनि जिविसका कर्मचारी र प्रहरी आइपुग्दैनन्’, उनले भने, ‘बरु बालुवा बेच्नेका मान्छे आएर चोरीको उजुरी दिनेलाई ज्यान मार्ने धम्की दिइसकेका हुन्छन् ।’

दुवाकोट क्षेत्र हेर्ने महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले भने बालुवा चोरी निकासीमा प्रहरीको संलग्नताबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । दुवाकोट भक्तपुरमा बढी बालुवा चोरी हुने क्षेत्र हो ।

आफू वृत्तमा नयाँ भएकाले चोरी निकासीबारे विस्तृत थाहा नभएको र अब यसबारे थप अनुसन्धान गर्ने उनको भनाइ छ । बालुवा चोरी निकासीको जिम्मेवार निकाय जिविस भएको उनले बताए । उता जिल्ला विकास समिति भक्तपुरका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला भने बालुवा चोरी हुनेबारे जानकारी र सूचना नै नआउने बताउँछन् ।

अवैध रूपमा खानी सञ्चालन गरी बालुवा चोरी भइरहेको उनले स्वीकार गरे । ‘स्थानीय बासिन्दाबाट बालुवा चोरी भएको जानकारी नै आउँदैन । त्यत्तिकै टोली मात्रै पठाएर हुँदैन’, उनले भने, ‘जिविस कर्मचारीको मिलोमतोमा चोरी निकासी भइरहेको भने होइन ।’ बालुवा चोरीमा कर्मचारीको मिलोमतो रहेको पुष्टि भए आफूहरूले कारबाही गर्ने उनको भनाइ छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बालुवा चोरी निकासी गर्ने कार्यमा गिरोह नै लागेकाले उनीहरूले प्रहरी प्रशासन र जिविसमाथि आरोप लगाउने गरेको दाबी गरे । स्थानीय बासिन्दाको सहयोगबिना त्यसलाई रोक्न नसकिने उनको भनाइ छ । ‘स्थानीय बासिन्दाले बालुवा चोर्नेहरूमाथि खबरदारी गर्नुपर्छ’, उनले भने, ‘स्थानीय सचेत भए सिन्को पनि चोर्न सकिँदैन तर उहाँहरू नै मौन बस्नुहुन्छ ।’

बालुवा चोरी निकासी भइरहे गाडी नियन्त्रणमा लिएर प्रहरी प्रशासन र जिविसलाई खबर गर्न स्थानीय बासिन्दासँग उनले आग्रहसमेत गरे । बालुवा चोरी गर्ने गिरोहबाट धम्की आए प्रहरी प्रशासनमा उजुरी दिन पनि उनले सुझाए ।

प्रतिक्रिया