निजी सवारीलाई रोक्ने ब्यवसायीको प्रयास असफल, पोखरामा तीन वटा बस चल्दा गण्डकी अञ्चलभर बन्द

निजी सवारीलाई रोक्ने ब्यवसायीको प्रयास असफल, पोखरामा तीन वटा बस चल्दा गण्डकी अञ्चलभर बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ फाल्गुन २०७२
  • 15.6K
    Shares

पोखरामा नयाँ नगर वस सञ्चालनमा आएको विरोधमा निजी सवारी समेत ठप्प पार्ने यातायात ब्यवसायीको प्रयास विफल भएको छ । आन्दोलनका क्रममा विहिवार गण्डकी अञ्चलभर आम चक्काजामको घोषणा गरिएपनि सार्वजनिक सवारी वाहेक अन्य सवारी निर्वाध चलिरहेका छन् ।

विहानै सडकमा सवारी तेर्साएर अबरोध गर्न खोजेका ब्यवसायीलाई प्रहरीले हटाएपछि पोखरा सहित गण्डकी अञ्चलभर निजी सवारी भने चलिरहेका छन् । भर्खरै रुट इजाजत पाएको नयाँ विन्ध्यावासिनी वस ब्यवसायी समिति अन्तर्गतका तीन वटा बस पनि नगर क्षेत्रमा सञ्चालन भैरहेका छन् । नयाँ बसलाई प्रहरीले सुरक्षा दिएर चलाइएको छ ।

पोखरा वस ब्यवसायी समिति, पृथ्बी राजमार्ग बस सञ्चालक समिति, लेखनाथ बस ब्यवसायी समिति तथा स्थानिय श्रङ्गा यातायात समिति लगायतका पुराना अन्य समितिका सार्वजनिक सवारी सञ्चालन नआउदा यात्रुले सास्ती खेप्नु परेको छ । पोखरा नगर क्षेत्रको साथै पोखराबाट अन्यत्र जाने यात्रुहरु मर्कामा परेका छन् ।

पोखरा नगर क्षेत्रमा सञ्चालन हुने गरी विन्ध्यावासिनी वस ब्यवसायी समिति अन्तर्गतका तीन वटा नयाँ बसले रुट इजाजत पाएपछि पुराना ब्यवसायी आन्दोलित भएका हुन् । उनिहरुले नयाँ समितिको रुट इजाजत खारेज हुनुपर्ने माग राखेका छन् । समस्या समाधानको लागि भएका प्रयास विफल भएपछि यातायात ब्यवसायी राष्ट्रिय महासंघ अञ्चल कार्यालय गण्डकीको अगुवाईमा सार्वजनिक सवारी ठप्प पारिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो ।

प्रतिक्रिया