पोखरा उपमहानगरपालिकाको वडा नं. २८ अर्मला घर भएकी हरिकला केसी सराङकोटको पँधेलीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । ३५ वर्षीया केसीको शव ठूलो ढुंगाले थिचिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।
केसी माघ २५ गतेदेखि हराएकी थिइन् । बोडिङका सञ्चालक आत्मराम थापाले केसीका आफन्तलाई खबर गरे पनि प्रहरीकोमा भने कुनै जानकारी दिएका थिएनन् । केसीले विगत २ महिनादेखि पँधेलीको बालप्रतिभा बोर्डङको होस्टेलमा काम गर्थिन् ।
बोर्डङबाट होस्टेल ५ सय मिटरको फरकमा छ । त्यही होस्टेलबाट ५० मिटर पर मुलबाटो छेउमा उनको शव भेटिएको सराङकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नयराम कार्कीले बताए । ‘उनको शव ठूलो ढुंगाले थिचिएको थियो,’ उनले भने, ‘ढुंगा तलबाट शव निकाल्न १५ जना लागेका थिए ।’