चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध उसैको भूमिमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले १२ औं साग फुटबलको उपाधि जितेको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी स्टेडियममा सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोलले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको हो ।
नेपालको जितमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरे । नेपालको जितपछि भारतीय खेलाडीको रुवाबासी चलेको थियो ।
चौथो पटक साग फुटबलको फाइनलमा पुगेको नेपालले यसअघि यसअघि सन् १९८४ र १९९३ को साग फुटबलमा स्वर्ण पदक जितेको थियो । घरेलु मैदान र दर्शकको समेत साथ पाएको भारतले ३३ औं मिनेटमा पेनाल्टी मार्फत सुरुवाती गोल गरेका थियो ।
भारतका हलिचरण नरजारीले पेनाल्टीको सदुपयोग गरे । डिबक्स भित्र नेपालका आदित्य चौधरीले भारतका कुमाम उदान्त सिंहलाई लडाएपछि भारतले पेनाल्टीको मौका पाएको थियो ।
पहिलो हाफमा भारतको दबाब झेलेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागनम ग¥यो । दोस्रो हाफमा चमत्कारिक खेल खेलेको नेपालका लागि प्रकाशले ६६ औं मिनेटमा फ्री किकमार्फत बराबरी गोल फर्काएका थिए ।
प्रकाशले करिब २२ यार्ड टाढाबाट हानेको फ्री किक प्रहार सोझै गोलमा परिणत भएको थियो । उक्त प्रहारलाई भारतका गोलरक्षक रहेनेश टीपीले नियाल्न समेत सकेनन् । प्रकाश ५९ औं मिनेटमा मिनबहादुर तामाङको स्थानमा मैदान छिरेका थिए । नवयुगले ७२ औं मिनेटमा निर्णयाक गोल गरे ।
नवयुगले अन्जन विष्टको पासमा वानचट दर्शनीय गोल गरेका थिए । नवयुगले जाली चुमाएपछि नेपाली सर्मथको खुशी र हुटिङले इन्दिरा गान्धी स्टेडियमको पूरा माहोल बदलिएको थियो ।
नेपालीभाषीको बाहुल्यता रहेको गुवाहाटीका सर्मथकलेसमेत नेपालको पक्षमा हुटिङ गरे । गुवाहाटीका सर्मथकले नेपालको झण्डासमेत समाएर खुशी साटेका थिए ।
६२ औं मिनेटमा हेमन गुरुङको करिव २५ यार्ड लामो प्रहारलाई भारतका गोलरक्षक रेहेनसले विफल पारिदिएका थिए । ७२ औं मिनेटमा भारतका मावीनिङ्थङबाको पोस्ट छेउको सशक्त काउन्टर प्रहारलाई नेपालका गोलरक्षक विकेशले उत्कृष्ट बचाउ गरे ।
अन्तिम मिनेटसम्म पुनः खेलमा फर्कने प्रयास गरेको भारतको योजनालाई गोलरक्षक विकेशले पूरै निष्तेज तुल्याइदिए । भारतविरुद्ध कुथुको प्रर्दशन बेजोड थियो ।
खेलको प्रारम्ममा हावी देखिएको भारत अन्ततः आफ्नै मैदानमा रुवाबासी गर्न थालेको थियो । नेपालले दोस्रो गोल फर्काएपछि भारतीय सर्मथकले प्यारापिट छाड्न थालिसकेका थिए ।
माल्दिभ्सबिरुद्ध पनि उत्कृष्ट पुनरागमन गरेको नेपालले आफुलाई दक्षिण एसियाली फुटबलमा बलियो छु भन्ने प्रमाणित गरिदियो । पहिलो हाफमा भारतका सुमित पासी, कुमम उदन्त सिंह, हलिचरन नरजारीले लगातार गोलको अवसर खेर फालेका थिए ।
नेपालले पहिलो हाफमा एउटमात्र फितलो अवसर बनाएको थियो । दोस्रो हाफमा नेपालको दवाव झेलेको भारत अन्ततः आफ्नै मैदानमा रुवाबासी गर्न बाध्य बन्यो । खेलपछि नेपालका प्रशिक्षक राजुकाजी शाक्यले पहिलो हाफमा खेलाडीले खेल्न नसकेको बताए ।
दोस्रो हाफमा हामीले आफ्नो रणनीतिमा पूरै फेरबदल ग¥यौं । सुरुमै पेनाल्टीमा गोल खाएर जित्नु आज हामीलाई भगवानको पनि साथ रह्यो । दोस्रो हाफमा खेलाडीले धेरै राम्रो खेले’, प्रशिक्षक शाक्यले भने, ‘भारतको रक्षकको गल्तीमा हामी सफल भयौं । दोस्रो हाफमा भारतको मुख्य हतियार मह्वी मिङथाङ्गा र कुमाम उदान्त सिंहलाई रोक्न सक्नु नै हाम्रो सफलता हो । यो उपाधिले नेपाली फुटबलको विकासमा धेरै सहयोग पुग्नेछ ।’
साग फुटबलसँग शाक्यको संयोग समेत विछट्टकै छ । नेपालले सागमा पुरुष फुटबलतर्फ सन् १९९३ मा ढाकामा स्वर्ण पदक जित्दा शाक्य टोलीको कप्तान थिए ।
सन् १९९९ को साग फुटबलमा नेपालले रजत जित्दा उनी टोलीको सहायक प्रशिक्षक थिए । शाक्यले मुख्य प्रशिक्षकको रुपमा आफुले साग फुटबलको उपाधि दिलाउन पाउनु जीवनमा अर्को खुशी थपिएको बताए ।
भारतका प्रशिक्षक ली एलन जोनसोनले सुरुमा उत्कृष्ट खेलेपनि दोस्रो हाफमा नेपाललाई खेलाडीले हल्कारुपमा लिएको प्रतिक्रिया दिए ।
‘पहिलो हाफमा हामीले धेरै गोल गर्ने मौका पाएका थियौँ । पेनाल्टीमा बनेको अग्रता जोगाउन सकिएन’, उनले भने, ‘प्रतिद्वन्द्वीलाई सजिलो ठान्दा खेलाडीले दबाब थेग्न सकेनन् । नेपालबाट फ्रिकिकमा नसोचेको गोल भयो । नेपालले दोस्रो हाफमा धेरै राम्रो गर्यो । हामीले गोलगर्ने प्रयास गरे पनि सफल बन्न सकेनौं ।’