कास्कीका ९ ताल अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा

कास्कीका ९ ताल अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ माघ २०७२
  • 12.2K
    Shares

पोखराको फेवासहित ९ वटा ताल मंगलबारदेखि अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा समेटिने भएका छन् । साइटिस महासन्धि सचिवालयबाट आएको विज्ञहरूको टोलीले विश्व सिमसार दिवसका दिन मंगलबार ती ९ ताललाई रामसारमा समेटिएको औपचारिक प्रमाणपत्र सरकारलाई दिनेछ ।

एसियाका लागि रामसारका सल्लाहकार डा।लिउ योङ र कन्सल्ट्यान्ट रोप क्याडमसले कास्कीको फेवा, रूपा, बेगनाससहित कमलपोखरी, खास्टे, गुइडे, नेउरेनी, दिपाङ र मैदी ताललाई रामसार सूचीमा समेटेको आधिकारिक प्रमाणपत्र दिनेछन् । योङ र क्याडमस आइतबार नै पोखरा जानेछन् ।

ती ताल रामसारमा समेटिएपछि तिनको अन्तर्राष्ट्रिय महत्त्व एवं ख्याति बढ्नेछ । यसबाट पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने सम्बद्ध जानकारहरूको अपेक्षा छ । यस्तै, तालको संरक्षण र सदुपयोगका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय व्यक्तिहरूको जीविकोपार्जनका कार्यक्रमसमेत हुनेछन् ।

पछिल्लो अध्ययनअनुसार विश्वका ६१.८५ प्रतिशत बासिन्दाले जीविकोपार्जनको प्रमुख आधारका रूपमा सिमसार क्षेत्रलाई उपयोग गर्दै आएका छन् । यसअघि चितवनको बीसहजारी, सुनसरीको कोसीटप्पु, कैलालीको घोडाघोडी, कपिलवस्तुको जगदीशपुर, सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाईँकुण्ड, मुगुको रारा, डोल्पाको शे–फोक्सुन्डो र इलामको माइपोखरी गरी नौवटा ताल रामसारमा समेटिएका थिए । पोखराका नौ ताल रामसारमा सूचीकृत भए तिनको संख्या १० पुग्नेछ । कास्कीका ९ वटै ताललाई एउटै समूहमा राखिएको छ ।

विश्वका १ सय ६९ देशबाट रामसार सूचीको संख्या २ हजार २ सय २२ छ । वन मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ९ ताललाई रामसारमा सूचीकृत गर्न स्विट्जरल्यान्डको ग्लान्डस्थित रामसार महासन्धिको सचिवालयलाई गत महिना प्रस्ताव गरेको थियो । विभागका प्रवक्ता तथा रामसारका फोकल व्यक्ति डा।महेश्वर ढकालका अनुसार टोलीले ताल अवलोकन गर्दै मंगलबार आयोजना हुने विशेष कार्यक्रमबीच सूचीकृत प्रमाणपत्र प्रदान गर्नेछ ।

पोखरा उपत्यकाका ९ ताल रामसारमा समेट्न पर्यटन मन्त्रालय मातहतको राष्ट्रिय ताल विकास समितिले गत वर्ष सम्भाव्यता अध्ययन गरेको थियो । नेपाल १९८७ देखि रामसार महासन्धिको पक्ष मुलुक हो । कान्तिपुरबाट

प्रतिक्रिया