पर्वत जिल्लाको पहिलो बाजुङ गाविस–६ स्थित मुलुककै उत्कृष्ट पातिखोला रेन्बोट्राउट फर्म बाढीले बगाएको छ । पातीखोलामा गत बुधबार राति आएको बाढीले फर्म बगाएको हो । मुलुककै नमुना फर्म बगाएपछि झन्डै रु एक करोडको क्षति भएको छ । यो फर्म गत वर्ष विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ मुलुककै उत्कृष्ट फार्म घोषित भएको थियो ।
पर्वतको क्याङ गाविसबाट आएको पहिरो र खोलाको बाढी फर्ममा पसेपछि त्यहाँका सबै संरचना बगाएको छ । फर्म बगाउँदा रु २७ लाखभन्दा बढी पर्ने माछाका भुरा र तयारी माछा बगेका छन् । संरचना निर्माण गर्दा झन्डै रु ५० लाख खर्च लागेको कम्पनीका अध्यक्ष यामप्रसाद शर्माले बताउनुभयो । “फर्ममा बाढी पसेपछि झन्डै रु एक करोड क्षति भएको छ” शर्माले भन्नुभयो । रासस