फिर्के खोलाको अतिक्रमित संरचना हटाउन पोखरा महानगरको अन्तिम सातदिने अल्टिमेटम

फिर्के खोलाको अतिक्रमित संरचना हटाउन पोखरा महानगरको अन्तिम सातदिने अल्टिमेटम


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असोज २०८३
  • 551
    Shares

बाढीले भतिकिएको पोखरा ५ र ८ जोड्ने फिर्के पुल

पोखरा, ६ असोज २०८३ ।

पर्यटकीय नगरी पोखराको बीच भाग भएर बग्ने फिर्के खोलाको खोलाघर अतिक्रमण गरी बनाइएका संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम पटकका लागि भन्दै सात दिने अल्टिमेटम दिएको छ।

महानगरले सोमबार एक सार्वजनिक सुचना जारी गरेर सात दिनभित्र खोलाघर खाली गर्न सात दिने अल्टिमेटम दिएको हो ।उक्त सुचनामा तोकिएको समयभित्र संरचना नहटाए महानगर आफैंले भत्काउने चेतावनी दिएको छ।

‘तोकिएको मितिभित्र अटेर गरी नहटाए महानगर आफैंले कानुनबमोजिम संरचना हटाउँछ, त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाटै असुल गर्छ,’ मेयर धनराज आचार्यले बताए।

पोखरा १८ अँधेरीकुनादेखि ८ वटा वडा हुँदै बग्ने फिर्के खोला मुहानदेखि तिरसम्म ८ किलोमिटर लामो छ। खोलाको बहाव नै छेकेर सयौं संरचना बनाइएका छन्। केही संरचना महानगरले र केही व्यक्तिले आफैं भत्काएका छन्, तर अझै धेरै संरचना खोलाघरमै छन्।

महानगरको प्रारम्भिक अध्ययन अनुसार १६० भन्दा बढी स्थायी र अस्थायी संरचना हटाउनुपर्ने थियो। जेठमा डोजर लगाएर केही हटाइए पनि अझै २५ स्थायी, २६ अस्थायी र ५ कम्पाउन्ड वाल गरी ५६ संरचना हटाउन बाँकी छ। जसमा विद्यालयदेखि सरकारी कार्यालय, सामुदायिक संघसंस्था र निजी संरचना समेत छन्।

बाँकी ५८ मध्ये २९ वटा संरचना धनीहरूले आफैं भत्काउन थालेका छन् भने २२ वटामा अझै काम सुरु भएको छैन। यसअघि महानगरले भदौ १५ सम्मको समयसीमा दिएको थियो। वर्षा र विपत्तिको कारण देखाउँदै घरधनीले समय थप्न माग गरेपछि केही ढिलाइ भएको मेयर आचार्यले बताए।

खोलाघर क्लियर भएपछि दातृ निकायको साझेदारीमा ४२ करोडभन्दा बढी लागतमा कोरिडोर निर्माण गर्ने योजना छ। कोरियाको चेओनगेचेन खोलाको मोडेलमा फुट ट्रेल, रेष्टुरेन्ट, चौतारीसहित पर्यटकीय संरचना बनाउने प्रस्ताव गरिएको छ।

फिर्के खोलाघर खाली नगरेको भन्दै नागरिक अगुवा रामबहादुर पौडेललगायत नागरिक समाजले पटक-पटक ध्यानाकर्षण गराउँदै आएका थिए।

प्रतिक्रिया