त्रिपुरेश्वरमा बसभित्र आ त्मदा ह प्रयास गरेको भनिएका चालक पहिचानमा अन्योल

त्रिपुरेश्वरमा बसभित्र आ त्मदा ह प्रयास गरेको भनिएका चालक पहिचानमा अन्योल


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असोज २०८३
  • 1.7K
    Shares

पोखरा, ६ असोज २०८३ ।

काठमाडौं – त्रिपुरेश्वरमा बसभित्र आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचानमा अन्योल देखिएको छ। घटनापछि प्रहरीले सार्वजनिक गरेको नाम र घटनामा संलग्न व्यक्तिको परिचय फरक-फरक देखिएपछि अन्योल बढेको हो।

घटनापछि प्रहरीले आत्मदाह प्रयास गर्ने व्यक्ति काभ्रेका दावा लामा भएको बताएको थियो। तर दावा लामाले भने आफू सकुशल रहेको र आफू उक्त घटनामा संलग्न नरहेको बताएका छन्।

दावा लामाका अनुसार घटनामा संलग्न व्यक्ति अर्जुन दोङ हुन्। दावा र अर्जुन केही समयअघि चन्द्रागिरी यातायातमा चालकका रूपमा काम गर्ने गरेको उनको भनाइ छ।

दावा लामाले आफ्नो लाइसेन्ससँग सम्बन्धित एउटा रसिद केही महिनाअघि हराएको बताएका छन्। त्यही रसिद अर्जुन दोङले भेट्टाएर आफ्नो परिचय खुल्ने कागजको रूपमा प्रयोग गर्दै गाडी चलाएको हुनसक्ने उनको दाबी छ।

तर प्रहरीको भनाइ फरक छ। प्रहरीले घटनास्थलमा घाइते अवस्थामा भेटिएका व्यक्तिको साथबाट दावा लामाकै नाममा रहेको सक्कली लाइसेन्स फेला परेको जनाएको छ। यसले गर्दा दावा लामाको भनाइ र प्रहरीको प्रारम्भिक विवरणबीच अहिले स्पष्ट मिलान हुन सकेको छैन।

यातायात व्यवस्था विभागका कर्मचारीहरूका अनुसार अर्को व्यक्तिको लाइसेन्स प्रयोग गरेर गाडी चलाउने घटना यसअघि पनि देखिने गरेको छ। कतिपय अवस्थामा लाइसेन्स दुरुपयोग भएको भन्दै उजुरीसमेत आउने गरेको उनीहरूको भनाइ छ।

यसैबीच रिद्धिसिद्धी यातायातको रेकर्डमा पनि चालकको नाम दावा लामा र ठेगाना ललितपुर उल्लेख रहेको बताइएको छ।

अब मुख्य प्रश्न — घटनामा संलग्न व्यक्ति वास्तवमै दावा लामा हुन् कि अर्जुन दोङ ? दावा लामाको लाइसेन्स अर्कै व्यक्तिले कसरी प्रयोग गर्यो ? र प्रहरीले फेला पारेको लाइसेन्सको वास्तविकता के हो ? यी सबै विषय प्रहरीले गर्ने थप अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिन्छ।

अहिलेका लागि भने त्रिपुरेश्वर घटनामा व्यक्तिको पहिचानमै अन्योल देखिएको छ। अस्पतालमा उपचार भइरहेका व्यक्तिको स्वास्थ्य अवस्थाबारे प्रहरीले थप विवरण सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार