दाङमा प्रहरीको गोली प्रहारबाट एक घाइते भएका छन् । गोली लागेर रामपुर–९ का २७ वर्षीय दानवहादुर बुढा घाइते भएका हुन् । गएराति तुलसीपुर–१५ ग्वारखोलानजिक केही व्यक्तिहरुले ड्यूटीमा रहेका प्रहरीमाथि खुकुरी प्रहार गर्न थालेपछि प्रतिरक्षाका लागि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए ।
बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको अहिले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको एसपी सिंहले जानकारी दिए । प्रहरीले गुण्डागर्दीमा संलग्न रहेको भन्दै अन्य पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामपुर–९ का २१ वर्षीय रमेश अधिकारी, २२ वर्षीय किरण पोख्रेल, २० वर्षीय उपेन्द्र गिरी, २३ वर्षीय भीमसेन बुढा र तुलसीपुर–१५ का ३३ वर्षीय सागर श्रेष्ठ छन् । उनीहरुको साथबाट दुई थान खुकुरी बरामद भएको एसपी सिंहले बताए । उनीहरु फोनमा धम्की दिई व्यापारीहरुबाट रकम असुली गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।